काठमाडौं । सेती प्रादेशिक अस्पतालले धनगढीमा अनसनरत स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीको अवस्था जटिल बन्दै गइरहेको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको छ । आठ दिनदेखि अनसनमा रहेका केसीलाई टाउको दुख्ने रिँगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न गाह्रो हुने, शरीरको मांसपेशी दुख्ने लगायतका समस्याका कारण उनले स्वास्थ्य अवस्था जटिल बनेको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाएको हो ।
अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै केसीको अवस्थाबारे जानकारी गराएका हो । २० औं अनसनमा धनगढीको कृष्ण मन्दिर धर्मशालामा बसेका डा केसीको स्वास्थ्य बिग्रिएपछि मंगलबार उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालमा राखिए पनि स्वास्थ्यमा सुधार भने आएको छैन । बरु थप बिग्रँदै गएको छ ।
डा केसीको तौल ३ किलो घटिसकेको छ । शरीरमा र पोषण तत्व र पानीको कमी हुँदा बेहोस् हुन सक्ने, कम्पन हुन सक्ने, मुटुको धड्कन तथा रक्तचाप असन्तुलन भई शरीरका अन्य अङ्गमा समेत थप सम्भावित जटिलता देखा पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया