Logo

राजनीति

नागरिकता विधेयक : १५ दिन पुग्दा पनि भएन प्रमाणीकरण, प्रधानमन्त्री पुगे शीतल निवास



काठमाडौं । संघीय संसदबाट पारित भइ राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक १५ दिन पुग्दा पनि प्रमाणीकरण नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन् । उनी सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीलत निवास पुगेका हुन् ।

दोस्रो पटक पारित भएर आएपछि १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सो बारेमा छलफल गर्न गठबन्धनका नेताहरू शीतल निवास पुगेका हुन् ।

संघीय संसद सचिवालयले भदौ २० गते राष्ट्रपति कार्यालयमा विधेयक प्रमाणीकरणका लागि दर्ता गराएको थियो । जसअनुसार आज १५ दिन पुगेको संसद सचिवालयको हिसाब छ । यसअघि जस्तो विधेयक फिर्ता गर्ने अधिकार यस पटक संविधानले राष्ट्रपतिलाई दिएको छैन ।

प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार  ६ : ४१ बजे