काठमाडौं । साताको तेस्रो दिन सेयर बजार परिसूचक नेप्से ३८.८१ अंकले ओरालो लागेको छ । मंगलबार बजार परिसूचक नेप्से १८३७.६० अंकमा बन्द भएको छ । यो करिब २३ महिना यताकै न्यून बिन्दु हो । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो ।
त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये वित्त कम्पनी उपसूचक सबैभन्दा धेरै ३.८३ प्रतिशतले गिरावट भएको छ ।
नेप्सेमा लगातार गिरावट हुँदा कारोबार रकम पनि पछिल्लो केही महिना यता १ अर्बकै हाराहारीमा रहेको छ । गत साता १ अर्बबाट पनि तल लागेको कारोबार रकम आइतबार बढेर १ अर्ब ६० करोड पुगेको थियो । मंगलबार पुनः घटेर १ अर्ब २३ करोडमा सीमित भएको छ ।
मंगलबार नेप्सेमा १८७ कम्पनीको सेयर कारोबार भएकोमा १७८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर हुँदा ७ कम्पनीको मात्रै बढेको छ ।
प्रतिक्रिया