नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको तेस्रो सिजनको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ हराउँदै सुदूरपश्चिम रोयल्सले लुम्बिनीसँगको भेट पक्का गरेको हो ।
फाइनल खेल पर्सि शनिबार हुनेछ । गत सिजनको फाइनलमा सुदूरपश्चिम लुम्बनीसँगै पराजित भएको थियो । यस्तै जारी प्रतियोगिताको पहिलो क्वालिफायरमा पनि लुम्बिनीसँगै पराजित भएर सुदूरपश्चिमले आज दोस्रो प्ले अफ खेलेको हो ।
यति मात्र होइन यस सिजनको पहिलो खेलमा पनि सुदूरपश्चिम लुम्बिनीसँगै पराजित भएको थियो । यसरी लगातार तीन खेलमा हार ब्यहोरेको सुदूरपश्चिमले एकपटक फेरि फाइनलमा हारको बदला लिने मौका पाएको हो ।
१३४ रनको लक्ष्य सुदूरपश्चिमले अन्तिम ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।
सुदूरपश्चिमको जितमा थिरन्दु रत्नायकेले अर्धशतक प्रहार गरे । उनले ४३ बलमा अविजित ५३ रन बनाउँदै टोलीका लागि विजयी चौका प्रहार गरेका थिए ।
अन्तिम ओभरमा चितवनले विकेट किपर कमिल मिसारालाई बलिड गराउँदै अफ ब्रेकमार्फत विकेट झार्ने रणनीति लिएको थियो । उसको यो रणनीतिले शुरुमा काम गर्ला जस्तो देखिएको पनि थियो ।
अन्तिम ओभरमा ४ रन चाहिएको अवस्थामा पहिलो र दोस्रो बलमा एक एक दिएका मिसराले चौथो बलमा विकेट लिँदै दबाब बढाएका थिए । तर, पाँचौ बलमा चौका हान्दै रत्नायकेले टोलीलाई फाइनल पुर्याए ।
यसैगरी, विनोद भण्डारीले २३ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ तथा इशान पाण्डे र आरिफ शेखले समान १० रन बनाए । लक्ष्य ठुलो नभएकोले सुदूरपश्चिमका ब्याटरको टिकेर खेल्दै टोलीलाई जिताउने रणनीति सफल भएको थियो । रत्नायकेले ४३ बलमा ७ चौका प्रहार गरेका थिए ।
संयमित ब्याटिड गरेका उनले ठुला शट हान्ने जोखिम नलिइ चौका प्रहार गर्ने रणनीति लिएका थिए भने रनिड विट्वीन द विकेटको तालमेल पनि राम्रो बनाएका थिए ।
चितवनका रञ्जित कुमारले २ विकेट लिए ।
त्यसअघि, त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेभिड मलानले सर्वाधिक ७१ रन बनाए। उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरेका थिए । मलानले ३८ बलमा अर्धशतक पूरा गरेका थिए।
खराब शुरुवात गरेको चितवनले शुरुवाती ३ ओभरमा मात्र १५ रन जोड्दा ३ विकेट गुमाएको थियो । गएको खेलमा अविजित १२० रन बनाएका कमिल मिसारा आज ४ रनमा आउट भए ।
यस्तै, गत खेलमा अर्धशतक बनाएका कप्तान रवि बोपाराले ८ बलमा मात्र १ रन बनाउन सके । मलानलाई कुनै पनि ब्याटरले साथ नदिँदा चितवनले सामान्य योगफलमै चित्त बुझाउनु पर्यो ।
तथापी ६२ रनमा ६ विकेट गुमाएको अवस्थाबाट मलानले इनिङ्स केही हदसम्म उकासेका थिए । सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले ३ तथा थारिन्दु रत्नायकेले २ विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र इशान पाण्डेले एक एक विकेट लिए ।




















प्रतिक्रिया