Logo

समाचार

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन



कालीकोट । कालीकोटमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन ‍भएको छ । गोर्खा वेलफेर ट्रष्टको आयोजना तथा स्वास्थ्य सेवा कार्यालय कालीकोटको सहयोगमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भएको हो । शिविरको आजदेखि सुरु भएको हो ।

तीन दिन सञ्चालन हुने सो शिविरमा जिल्लाका नौवटै स्थानीय तहबाट आएका नाक, दाँत र अपाङ्गता भएका सेवाग्राहीलाई उपचार गर्ने गरी खाँडाचक्र नगरपालिका–१ मान्ममा सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले जानकारी दिए । “यसभन्दा अघि जिल्लाका नौवटै स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ । त्यहाँबाट आउनुभएका नाक, दाँत र अपाङ्गता भएका बिरामीका लागि निःशुल्क विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो”, उनले भने, “नाक, दाँत र अपाङ्गता भएका बाहिर जान समस्या हुने भएकाले जिल्लामा नै शिविर सञ्चालन गरेका हौँ ।”

विगतमा जिल्ला स्वास्थ्य कार्यालय कालीकोट, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र विभिन्न सङ्घ संस्थाबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएकामा अहिले विषेश गरेर नाक, दाँत र अपाङ्गता भएका नागरिकलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको सूचना अधिकारी महतले जानकारी दिए । जिल्लामा नाक, दाँत र अपाङ्गता भएका बिरामीले उपचार पाउनु सुखद विषय भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । “जिल्लामा नै विशेषज्ञ सेवा पाउनु सुखद् कुरा हो”, उनले भने, “जिल्लामा उपचार पाउँदा बिरामीको खर्च तथा अन्य विषयमा कमी आउनेछ ।” रासस

प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार  ९ : ४७ बजे