काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध नेपाली कांग्रेसभित्र संस्थापनइतर पक्ष आक्रामक बनेको छ ।पार्टी सञ्चालनमा एकलौटी गरेको, निर्वाचनको मुखमा इतर पक्षलाई बेवास्ता गरेको र टिकट वितरणको प्रक्रिया र छलफलमा पनि सभापति देउवाले मनोमानी गरेको भन्दै कांग्रेसभित्रको संस्थापनइतर पक्ष देउवाविरुद्ध उत्रिएको हो । सो पक्षले शनिबार राजधानीमा आफ्ना पक्षका नेतालाई जम्मा पारेर निर्वाचनमा विद्रोह हुनेसम्मको चेतावनी दिएका हुन् ।
पछिल्लो समय संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्द सूचीमा एकलौटी गरेको भन्दै शेखर पक्ष असन्तुष्ट रहँदै आइरहेको छ । सो निर्णय नच्याए पार्टीभित्र विद्रोह हुने चेतावनी शेखर पक्षको छ ।
इतर पक्षका नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरू विद्रोह गर्न बाध्य हुने बताए । उनले आफ्नातर्फका पदाधिकारी र नेतालाई न्यायको पक्षमा उभिन आग्रह गर्दै समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन सभापति देउवालाई चेतावनीसमेत दिए ।
‘म हाम्रै समूहका पदाधिकारीलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु, नभए राम्रो हुनेछैन, पार्टीमा सबैलाई न्याय हुनेगरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनु भएन भने पार्टीभित्र विद्रोह हुन्छ’ घिमिरेले खबरदारी सभालाई सम्बोधन गर्दै भने । उनले पार्टीभित्र न्यायोचित रूपमा टिकट वितरण भए ४०/६० को गणित आवश्यक नपर्ने भन्दै न्यायोचित नभए ४० प्रतिशतभन्दा १ प्रतिशत कममा पनि मञ्जुर हुन नसकिने बताए ।
उनले बालुवाटारमा भागबन्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने भन्दै पार्टीलाई नै नमिलाए चुनाव जित्न असहज हुने चेतावनीसमेत दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवकोटीले पार्टीलाई बलियो बनाउनेतर्फ नेतृत्वको ध्यान नगएको बताए । उनले पार्टी बलियो भए मात्रै निर्वाचनमा पार्टीका पक्षमा मत बढ्ने बताए । नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वर नगरसिंह केसीले आफूहरूले दिएको नाम समानुपातिकको बन्द सूचीमा समावेश नभएको भन्दै १६ असोजभित्र नसच्याए प्रतिवाद गर्ने चेतावनी दिए ।
‘समानुपातिकमा हामीले दिएका नाम काटिएको छ, १६ गतेसम्म सच्चिएन भने नयाँ बाटोका लागि तपाईं सबै तयार रहनुस्’, केसीले भने । नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले सभापतिले पार्टीभन्दा गठबन्धनमा बढी ध्यान दिएको भन्दै त्यसले पार्टीलाई हित नगर्ने बताए ।
तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले पार्टीको केन्द्रीय समितिमा बहुमत भएर मात्रै चुनाव नजितिने बताए । उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे । यस अघिसमेत सभापति देउवाले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्वले एकलौटी गरेको भन्दै आपत्ति जनाउँदै आएका थिए । राजधानी दैनिकबाट
प्रतिक्रिया