काठमाडौं । प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भएको भागबन्डाअनुसार अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए तर दुवै पक्षले फिर्ता नलिएपछि तीन क्षेत्रमा प्रतिस्पर्धा हुन लागेको हो ।
गठबन्धनका शीर्ष नेताहरूले शुक्रबार एक विज्ञप्तिमार्फत साझा उम्मेदवारहरूको सूची सार्वजनिक गर्दै प्रतिनिधिसभाका तीन स्थानमा प्रतिस्पर्धा हुने जनाएका हुन् । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी र माओवादीकी अञ्जना विशंखेबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष नेताबीच गठबन्धनमा भागबन्डा हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा केसीले नै जितेका थिए ।
धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । ०७४ को निर्वाचनमा यो क्षेत्र तत्कालीन संघीय समाजवादीले जितेको थियो । सर्लाही–२ मा लोसपाका राजेन्द्र महतो र माओवादीका महिन्द्रराय यादवबीच प्रतिस्पर्धा हुने भएको हो । यादवलाई सत्ता गठबन्धनको समर्थन छ । ०७४ को निर्वाचनमा यो क्षेत्रमा यादवले नै जितेका थिए ।
यस्तै, प्रदेशसभाका ३ सय ३० मध्ये ११ क्षेत्रमा गठबन्धन दलहरूबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं–३ (२) मा कांग्रेस र माओवादी, काठमाडौं ५ (२) मा कांग्रेस र एकीकृत समाजवादी, काठमाडौं–६ (२) र काठमाडौंं–१० (१) मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने गठबन्धनको विज्ञप्तिमा उल्लेख छ । यसबाहेक सर्लाही–१ (१) मा माओवादी र लोसपा, बारा–१ (२) मा कांग्रेस र एकीकृत समाजवादी, पर्सा–३ (२) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (१) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (२) मा कांग्रेस र माओवादी, कञ्चनपुर–२ (२) मा कांग्रेस र एकीकृत समाजवादी, कञ्चनपुर–३ (१) मा माओवादी र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, प्रदेशसभाका अन्य आठ क्षेत्रमा सहमतिका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभातर्फ सिरहा–३ (२), महोत्तरी–२ (१), स्याङ्जा–२ (१), कपिलवस्तु–१ (१), हुम्ला (१), सुर्खेत–२ (१) र (२), बाजुरा (१) मा सहमति जुटाउने प्रयास छ । ‘केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं, साथै गठबन्धनका सहमतिका उम्मेदारहरूको सूची सार्वजनिक गरिएको छ,’ सत्ता गठबन्धन दलका शीर्ष नेताले शुक्रबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा छ, ‘साथै केही स्थानहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी तय गरिएको छ । ती स्थानहरूमा एकआपसमा समान र सौहार्दपूर्ण व्यवहार गर्ने समझदारी भएको छ ।’
रूपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धन दलबीच अझै मत ‘ट्रान्सफर’ को चिन्ता भएकाले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन उम्मेदवारलाई जिताउन गृहकार्य थालेका छन् । त्यसका लागि गठबन्धन संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरेको नेताहरूको भनाइ छ । कान्तिपुर दैनिकबाट





















प्रतिक्रिया