Logo

पत्रपत्रिका

छाएन लिमीमा चुनावी रौनक



हुम्ला । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि हुन सकेका छैनन् । बाक्लो हिमपातले गर्दा लिमी जाने दुईवटा नाका बन्द भएकाले प्रत्यासी उम्मेदवार र राजनीतिक दलका नेताहरू लिमी पुग्न नपाएपछि यस्तो अवस्था भएको हो । 

लिमी हल्जी गाउँका स्थानीय खेन्डाप तामाङले हालसम्म लिमीका तीन गाउँमा कुनै पनि निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन हुन नसकेको बताए । आयोगबाट हुने मतदाता शिक्षाका कार्यक्रम र दलहरूबाट हुने निर्वाचन प्रचारका कार्यक्रम हुन नसकेका हुन् । उनले जिल्लाका सबैतिर निर्वाचनका लागि उम्मेदवार र दलका नेताहरू पुगेको भए पनि लिमीमा प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका लागि प्रत्यक्षतर्फका प्रत्यासी बन्नुभएका १३ जना र समानुपातिकतर्फको कोही पनि उम्मेदवार पुग्न नसकेको बताए । 

उनले उम्मेदवारहरू नआएपछि लिमीका मतदाताले आफ्ना गुनासा, माग र आवश्यकता कसैलाई राख्न नपाएरै मत दिनुपर्ने अवस्था रहेको बताए । २०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन र गत स्थानीय निर्वाचनमा धेरै टोली चुनावी प्रचारका लागि लिमी पुगेको भए पनि यस पटक भने कोही जान सक्नुभएको छैन । लिमी जाङ गाउँका अर्का स्थानीय सुनदोर्जी तामाङले प्रकृतिले पनि लिमीलाई अन्याय गरेको बताउनुभयो ।  उहाँले लिमी जाने बाटाहरू हिमपातले अवरुद्ध नबनाएको भए उम्मेदवार र नेताहरू गाउँमा आउने र आफ्ना कुरा राखेर मन परेको उम्मेदवारलाई भोट हाल्न पाउने अधिकारबाट पनि प्रकृतिले वञ्चित बनाएको बताए । 

अर्कातर्फ लिमी बाहिर रहनुभएका मतदातासमेत लिमी जान सक्ने अवस्था नभएकाले ती मतदातासमेत मतदानबाट वञ्चित हुनुपर्नेछ । उनले उम्मेदवारहरूसँग आफ्ना कुरा राखेर  मत दिनुपर्नेमा त्यो यस पटकको निर्वाचनका लागि सम्भव नदेखिएको बताए ।

 हालसम्म नेपालमा जति पनि निर्वाचन भएका छन् ती निर्वाचनमा यस्तो अवस्था भएको थिएन । मतदातामा निर्वाचनका बारेमा कुनै चहलपहल नभएपछि कहिले निर्वाचन हुन्छ भन्नेसम्मको ज्ञान देखिएको छैन । लिमीमा तीनवटा मतदान केन्द्र रहेका छन् । तीनवटै मतदान केन्द्रमा गरी ५४१ मतदाता रहेका छन् । 

चुनावी प्रचारका लागि उम्मेदवारको लिमी जाने चाहना भए पनि लिमी जाने दुईवटै नाका चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटरको न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेका कारण यहाँ जान सक्ने अवस्था छैन । गोरखापत्रबाट

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार ०७:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।