काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत वर्षभन्दा प्रति किलो दुई रुपैयाँ बढी न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा खाद्यान्नको भाउ बढेसँगै सरकारले पनि धानको न्यूनतम समर्थन मूल्य बढाएको हो । मन्त्रिपरिषद्को १६ कात्तिकको निर्णय अनुसार‚ मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ९६७ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल तीन हजार १२८ रुपैयाँ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षका तुलनामा एक क्विन्टलमा न्यूनतम समर्थन मूल्य कम्तीमा २१५ रुपैयाँ बढाइएको छ ।
गत वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल दुई हजार ७५२ र मध्यम धानका लागि दुई हजार ९०२ रुपैयाँ तोकिएको थियो । न्यूनतम समर्थन मूल्यमा कृषि सहकारी मार्फत धान खरीद गर्न यो वर्ष ३३ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीदका लागि छिटै सूचना प्रकाशन गरिने मन्त्रालयको दाबी छ ।
हाल स्वीकृत कार्यविधि अनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्ने कृषि सहकारीहरूलाई ११२ रुपैयाँ प्रति क्विन्टल व्यवस्थापन खर्च उपलब्ध गराउने व्यवस्था छ । गत वर्ष यस कार्यक्रम अनुसार करीब नौ हजार मेट्रिक टन धान खरीद भएको थियो । यस आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरीदका लागि ३३ करोड रकम विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया