खाग र दाह्रा बेचिएको आशंकामा शंकास्पद कर्मचारीको वित्तीय र कल विवरण अनुसन्धान हुँदै
निकुञ्जको कार्यालय दर्जनभन्दा बढी गेम स्काउटले रेखदेख गर्दै आएका छन्
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जको स्टोरबाट गैंडाको खाग र बाघको दाह्रा गायब पारिएको घटनामा आशंका गरिएका कर्मचारीहरुको वित्तीय र कल विवरण हेर्ने तयारी भएको छ । खाग र बाघको दाह्रा बेचिएको हुनसक्ने आशंका गर्दै शंकाको घेरामा रहेका कर्मचारीहरुको वित्तीय विवरण हेर्नका लागि छानबिन समितिले राष्ट्र बैंकलाई पत्र काटेको छ । उनीहरुको कल विवरण खोज्न समितिले अदालतबाट अनुमति पाइसकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको छानबिन समितिले दिएको सुझावको आधारमा निकुञ्ज कार्यालयले सहायक संरक्षण अधिकृत आशिष न्यौपानेको संयोजक्तवमा दुई सदसीय छानबिन समिति बनाएको छ । उक्त समितिले आरोपीहरुको कल डिटेल्स एवं वित्तिय कारोबार हेर्ने तयारी गरको हो । समितिको अर्का सदस्यमा रेन्जर केशव डोडारी छन् ।
बर्दिया निकुञ्जका वार्डेन अशोक भण्डारीले घटनालाई निष्पक्ष रुपमा छिटोभन्दा छिटो टुंगोमा पुर्याउने तयारी भइरहेको र प्रमाण संकलन गर्ने काम भइरहेको बताएका छन् । वार्डेन भण्डारीले शंका गरिएका संदिग्ध व्यक्तिहरुको कल ट्रेस र वित्तिय विवरण बुझ्नका लागि अनुमति पाइसकेको जनाए ।
विभागलाई खाग र दाह्रा हराएको विषयमा असोज १३ गते जानकारी भएपछि असोज १४ गते नै वन्यजन्तु अपराध शाखाका प्रमुख मनोज शाहको संयोजक्तवमा ६ सदस्सीय छानबिन समिति गठन गरेको थियो । शाहको समितिले स्टोर हेर्ने जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन र थप छानबिन गरेर दोषीमाथि कारबाही गर्न सुझाव दिएको थियो ।
समितिले दिएको सुझावको आधारमा बर्दिया निकुन्जले सहायक संरक्षण अधिकृत न्यौपानेको संयोजकत्वमा छुट्टै छानबिन गरिरहेको हो ।
हराएको भनिएको गैंडाको खाग २०७६ सालमा मृत अवस्थामा भेटिएको गैंडाको थियो । त्यही वर्ष गैंडाको खागलाई स्टोरमा राखेर अभिलेख गरिएको छ । स्टोर हेर्ने जिम्मेवारी सिनियर गेम–स्काउट सुवास चौधरीलाई दिइएको थियो ।
मृत भएका वन्यजन्तुहरुको अन्तिम संस्कार गर्नुअघि अखेटोपहार संकलन गरेर रेकर्डका लागि राखिन्छ । बाघको नंग्रा, जुँगा र छाला, गैंडाको खुर र खाग, हात्तीको दाह्रालगायत अन्य वन्यजन्तुको अखेटोपहार राख्ने गरिन्छ ।
असोज ५ गते स्टोर कार्यालयमा आएको सुब्बालाई सामान बुझबुझारथ गर्ने क्रममा गैंडाको खाग भेटिएको थिएन । असोज १३ गते मात्रै निकुञ्ज कार्यालयलाई स्टोरबाट लिखित जानकारी आएको सूचना अधिकारी मुकुन्द सन्जेलले जानकारी दिए । निकुन्जको स्टोर शाखामा ३ वाट गैंडाको खागमध्ये २ वटा र ४५ वटा बाघको दाह्रामध्ये २० वटा मात्रै भेटिएको थियो । त्यही बेला गैंडाको एउटा खाग र बाघको २५ वटा दाह्रा गायब पारिएको थाहा भएको थियो ।
सूचना अधिकारी सन्जेलले कार्यालयको स्टोरबाट गैंडाको खाग र बाघका दाँत हराउनुमा ‘कमजोरी’ भएको स्वीकार गरेका छन् । अहिलेसम्म खाग र दाह्रा कसरी हराए भन्ने विषय अनुसन्धानकै क्रममा भएकाले तत्कालै भन्न नमिल्ने सञ्जेलले बताए । उनले अनुसन्धान चाँडै नै निष्कर्षमा पुर्याउने बताए ।
हाल निकुन्जको स्टोर शाखामा सामान बुझाउनका लागि कार्यालयका सुब्बा प्रेम ओलीले सामान रुजु गर्दै बुझबुझराथ गरिरहेका छन् । बाघ संरक्षणमा विश्व ख्यति कमाउँदै टीएक्सटू अवार्ड समेत पाएको बर्दिया निकुञ्जभित्रैबाट खाग र बाघको दाँत हराउनुलाई अस्वभाविक मानिएको छ । कर्मचारीको मिलेमतो बेगर सुरक्षा घेराभित्रैबाट खाग हराउन असम्भव देखिन्छ ।
निकुञ्जको सुरक्षाको सम्पूर्ण काम नेपाली सेना गर्दै आएको छ । यस्तै कार्यालयभित्रको सुरक्षाको जिम्मेवारी भनेर सिनियर गेक स्काउटको कमान्डमा गेम स्काउटहरुले गर्छन् । गेम स्काउटले गस्ती गर्ने, पेट्रोलिङ गर्ने, कार्यालय सरसफाई लगायतका काम र सुरक्षाको काम हेर्ने सूचना अधिकारी सन्जेलले जानकारी दिए ।
निकुञ्जमा करिब ९० जना गेम स्काउट छन् । तीमध्ये मुख्य कार्यालयमा १२ जनाभन्दा बढी गेम स्काउट छन् । उनीहरु दुई जना सिनियर गेम स्काउटको कमान्डमा काम गर्ने गरेका छन् । कार्यालयको रेखदेखको जिम्मेवारी चाही सिनियिर गेमस्काउटको कमान्डमा रहेर गेम स्काउटहरुले गर्दै आएका छन् ।
सूचना अधिकारी सन्जेलले कार्यालयभित्रको व्यवस्थापकीय हिसाबले कमजोरी भएको स्वीकारेका छन् । ‘हामीले बाहिरमात्रै संरक्षणको चासो देखायौं, कहिले काही घरभित्रको व्यवस्थापन गर्न नसक्दा चुकिदो रहेछ,’ उनले कान्तिपुरसित भने,‘विश्वास नै विश्वासमा अविश्वास भयो ।’ कान्तिपुर दैनिकबाट





















प्रतिक्रिया