Logo

प्रमुख समाचार

लोसपा नेपालका उम्मेदवार मेहताको उम्मेदवारी खारेज



काठमाडाैं । सुनसरी निर्वाचन क्षेत्र ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज भएकाे छ । निर्वाचन आयोगले स्वतः बदर हुने निर्णय गरेसँगै मेहताको उम्मेदवारी खारेज भएको हाे ।

आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकोले निजको उम्मेदवारी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर गरेको हो ।

मेहताले उम्मेदवारी मनोनयनको क्रममा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १८ को उपदफा (६) सँग सम्बन्धित अनुसूची ६ बमोजिम प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) मा भएको कानूनी व्यवस्था बमोजिम आफू अयोग्य नभएको भनी स्वघोषणा गरेकोमा आफ्नै स्वघोषणाको प्रतिकुल हुने गरी प्रदेशसभा सदस्यको उम्मेदवारी मनोनयन गरेको समेतका आधारमा उम्मेदवारी बदर गरिएको आयाेगले जनाएकाे छ ।

मेहताको उम्मेदवारी बदर भएसँगै निर्वाचनका मतपत्रहरू छपाई भई सम्बन्धित मतदान अधिकृतले बुझी मतदान केन्द्रमा पुर्‍याउने प्रक्रियामा रहेको र प्राविधिक तथा व्यवस्थापकीय दृष्टिले अर्काे मतपत्र डिजाइन तथा छपाइ गरी मतदान अगावै सबै मतदान केन्द्रमा मतपत्र पुर्‍याउन समयाभावको कारणले असम्भव भएको हुँदा निज मेहताको निर्वाचन चिन्ह साइकलमा कुनै मत परेमा उक्त मत स्वतः बदर गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार २१:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।