पोखरा । नेकपा एकीकृत समाजवादीको कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेद्वार हुन् श्रीनाथ बराल । पार्टीको पोलिटव्यूरो सदस्य समेत रहेका बराल गठबन्धनका तर्फबाट साझा उम्मेद्वार हुन् ।
बरालले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट एमालेका स्वर्गीय नेता रवीन्द्र अधिकारीलाई जिताउन ठूलो भूमिका खेलेका थिए । उनलाई रवीन्द्रका सिनियर पनि भनियो । दोस्रो संविधान सभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उसैगरी लागिपरे । तर अहिले श्रीनाथ एकीकृत समाजवादीबाट निर्वाचन लड्दै छन् ।
उनको प्रतिस्पर्धा उनै स्वर्गीय अधिकारीकी धर्मपत्नी विद्या भट्टराईसँग हुँदैछ । सधैँ एमाले उम्मेदवार जिताउन लागि परेका बराल अहिले ५ दलीय गठबन्धनका तर्फबाट एमालेलाई हराउन आफैं उठेका छन् । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यतिबेला विद्याको विपक्षमा हुँदा आफ्नो जित सहज भएको बरालको दाबी छ ।रवीन्द्रले
लगातार २ पटक र बामगठबन्धनका कारण पछिल्लो पटक उपनिर्वाचनमा विद्याले वाम गठबन्धनबाट नै चुनाव जितेको कास्की २ को विरासत जोगाउन यतिबेला एमालेलाई हम्मे पर्ने देखिन्छ। जसको छनक वैशाख ३० को स्थानीय निर्वाचनले पनि दिएको छ ।
पोखरा महानगरको वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ रहेको उक्त क्षेत्रका ६ वटा वडामा कांग्रेस र ५ वटा वडाका वडाध्यक्ष एमाले उम्मेदवारले जितेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार ८ मत पाएका छन् भने एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए । यस्तै, एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए। अहिले ५ दलीय गठबन्धनमा आवद्ध दलहरूले उक्त क्षेत्रका वडाध्यक्षमा पाएको मत जोड्दा विद्या करिब २ हजारले पछाडि छन्।
एकीकृत समाजवादीका उम्मेदवार बरालले वैशाख ३० मा गठबन्धनका वडाध्यक्षले पाएका मत मात्र जोगाउन सके करिब ५ हजार मतान्तरले जित्ने देखिन्छ । । ‘एमालेभित्र अन्तर्घात भएकाले गठबन्धनका पक्षमा धेरै मत खस्छ र मैले र्निर्वाचन जित्छु’, बरालको दाबी छ ।




















प्रतिक्रिया