काठमाडौं । सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् ।
उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा कुनै शङ्का नगर्न आग्रह गरे । त्यसमा एक लाख १५ हजार म्यादी प्रहरी मात्रै रहेका छन् ।
मतदान केन्द्रको संवेदनशीलताका आधारमा तीन घेरामा सुरक्षाकर्मी खटिएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ ।
शान्तिसुरक्षा चुनौती नगन्य रहेको जानकारी दिँदै उनले केही ठाउँमा नक्कली वस्तु राखेर तर्साउने गतिविधि देखिए पनि त्यस्ता गतिविधि नियन्त्रणमा सुरक्षाकर्मी सक्षम रहेको पनि बताए । सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ परिचालित रहेका उनले जानकारी दिए ।
कतिपय क्षेत्रका भौगोलिक परिस्थिति र प्रतिकूल मौसमको अवस्थाका बीच अदम्य साहसका साथ खटिएर निर्वाचनको सुरक्षामा कुनै कमी हुन नदिएकामा सुरक्षाकर्मीलाई उनले धन्यवाद व्यक्त गरे । उनले धाँधलीरहित निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताए ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले मुलुकका ७७ वटै जिल्लाका सबै मतदान केन्द्रमा शान्तिसुरक्षा सामान्य रहेको जानकारी गराए ।
आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मताधिकार प्रयोग गर्दैछन् । कूल १० हजार आठ सय ९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र तोकिएको छ ।




















प्रतिक्रिया