Logo

राजनीति

काठमाडौं–८ मा ‘घण्टी’ र ‘लौरो’बीच कडा टक्कर, गठबन्धन तेस्रोमा



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा ठूला राजनीतिक दलहरुलाई पाखा लाउँदै पहिलो पटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ । ‘घण्टी’ चुनाव चिह्न लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएको रास्वपालाई यस निर्वाचन क्षेत्रमा ‘लौरो’ चुनाव चिह्नका हाम्रो नेपाली पार्टीले पछ्याइरहेको छ ।

सत्ता गठबन्धनसहितको एकीकृत समाजवादी र एमाले उम्मेदवारलाई पछि पार्दै नवगठित पार्टी रास्वपा र हाम्रो नेपाली पार्टीबीच कडा टक्कर देखिएको हो । रास्वपाका विराजभक्त श्रेष्ठले अगाडि छन् भने उनलाई हाम्रो नेपाली पार्टीका सुमन सायमीले पछ्याइरहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म श्रेष्ठले ६ हजार १ सय ९ मतसहित अग्रता लिएका छन् भने सायमीले ४ हजार ६ सय १३ मत ल्याएका छन् । विराजभक्त विवेकशील पार्टीबाट बागमती प्रदेशको सांसद हुँदै राजनीतिमा उदाएका हुन् । सायमी स्थानीय मुद्दा उठाउँदै राजनीतिमा सक्रिय छन् ।

गठबन्धनतर्फका उम्मेदवार तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २ हजार ४ सय १ मत प्राप्त गरेका छन् । त्यस्तै, एमाले उम्मेदवार शिवसुन्दर राजवैद्यले २ हजार ३ सय ४७ मत ल्याएका छन् । उनी जिल्ला समन्वय समिति काठमाडौंका पूर्वप्रमुख समेत हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १४:३४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।