Logo

राजनीति

देश विकासको पहिलो आधार सुशासन : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले मुलुकको विकासका लागि सुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । सुशासनबिना मुलुकको विकास हुन नसक्ने भन्दै उहाँले नेपाली कांग्रेसले सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

मोरङ निर्वाचन क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै काेइरालाले भने, “देशभर मतगणना चलिरहेको छ, अहिले नै के हुन्छ भनेर आँकलन गर्नु उचित हुँदैन ।” उनले मुलुकको शासन सञ्चालनमा युवापुस्ताको उर्जासँगै अनुभवी प्रतिनिधि पनि आवश्यक हुने बताए ।

काे हुन् डा. काइराला

बुवा स्व. केशवप्रसाद कोइराला र आमा नोना कोइरालाको कोखबाट २००७ भदौ ९ मा विराटनगरमा जन्मिएका उनले अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्ली, भारतबाट एमडी अध्ययन पूरा गरेका छन् । राजनीतिक यात्रा सुरु गर्नु अघि चिकित्सक पेसामा आबद्ध उनी प्रजातन्त्र प्राप्तिको आन्दोलनमा शाहीकालमा प्रहरी पहरा गण काठमाडौँमा तीन महिना थुनामा बसेका थिए ।

नेविसङ्घको स्थापनाकाल २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएका डा कोइराला २०२८ सालमादेखि पार्टी सदस्यता लिएर सक्रिय राजनीति सुरु गरेका हुन् । नेपाली कांग्रेसको ११औँ, १२औँ र १३औँ महाधिवेशनसम्म केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी १४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग सभापति पदका लागि लडेका थिए ।

विसं २०६५ मा भएको संविधानसभा सदस्यको उपनिर्वाचनमा मोरङबाट निर्वाचित डा कोइराला २०७० मा पनि निर्वाचित भएका थिए । कोइराला २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का लालबाबु पण्डितसँग पराजित भए पनि यो निर्वाचनमा पण्डितसँग १२ हजारभन्दा बढी मतान्तरका साथ विजयी भएका हुन् । रासस

प्रकाशित मिति : मंसिर ९, २०७९ शुक्रबार  ४ : ३८ बजे