काठमाडौं । थापाथलीको बागमती किनारमा बसोबास गर्दै आएकाहरुले सुकुम्वासी भएर बस्नु आफूहरुको चाहना नभई बाध्यता भएको बताएका छन् । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ थापाथलीस्थित बागमती किनारामासोमबार नगरप्रहरीको दलबलसहित डोजर लिएर बस्तीको छाप्रो भत्काउन पुगेको थियो । स्थानीयले प्रतिकार गरेपछि त्यहाँ तनावको स्थिति सृजना भएको थियो । त्यस क्रममा केही नगरप्रहरी घाइते समेत भएका छन् । स्थानीय र महानगर प्रहरीबीच झडप भएपछि महानगरको डोजर त्यहाँबाट फिर्ता भएको थियो ।
मंगलबार त्यहाँ उपत्यका भरिका सुकुम्वासीहरु जम्मा भएका थिए । सरकारले अत्यचार गरेको उनीहरुले बताएका छन् । ‘हामी मर्न तयार छौं तर बस्तिमा डोजर लगाउन दिँदैनौं’, उनीहरु भन्छन् ।
डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बस्तीमा डोजर चलाएको तर सुकुम्वासीलाई कतै पनि व्यवस्थापन नगरेकोले फेरि त्यहाँ नै छाप्रो बनाएर बसेको बिजय बुढामगरले बताए । राज्यको केन्द्रीय राजधानीमा आफूहरु भने दियो मुनिको अँध्यारोमा बस्नु परेको उनको भनाइ छ । यस विषयमा राज्यले न्यायोचित ढंगले व्यवस्थापन गर्न पर्ने उनको माग छ ।
विगत लामो समयदेखि सो बस्तीमा टहरा बनाएर बसोबास गर्दै आएका मिनकुमार रानामगर पनि बषैँदेखि सरकारले सुकुम्वासीको समस्या सुल्झाउन नसकेको आरोप लगाउँछन् ।

आन्दाेलन चर्काउने चेतावनी
जनताको पक्षमा विभिन्न आन्दोलनहरु गर्दै आएको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले यो समस्या सरकारले न्यायोचित ढंगले सुल्झाउनुपर्ने माग गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सुकुम्वासीको समस्या तत्काल समाधान नगरिए आफूहरु सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।
मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले महानगरपालिकाले यस्तो डोजर आतंक तत्काल बन्द गर्नुपर्ने बताए । उनले सुकुम्वासीको समस्या समाधान गर्न आयोग बने पनि कुनै काम नगरेकोले यस्तो समस्या आएको बताए ।
वरिष्ठ अधिवक्ता समेत रहेका जनआन्दोलन मोर्चाका उपाध्यक्ष बिष्णु भट्टराईले जनताको अभिमत लिएर काठमाडौं महानगरपालिकाको प्रमुख बनेका बालेन्द्र साहले यसरी जनताको बास उजाडने काम गर्न नहुने बताएका छन् । जनताको सेवक भएर काम गर्ने भनेर निर्वाचन जितेपछि शासकीय शैलिमा काम गर्नु दुःखद भएको उनको भनाइ छ ।
अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गत कात्र्तिक अन्तिम साता जारी गरेको सूचनामा निर्धारित मितिभित्र बस्ती खाली नगरे बल प्रयोग गरेर भए पनि हटाइने उल्लेख थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा बास छाड्न सूचना निकालिएपछि सुकुम्वासीहरू आक्रोशित थिए । मंसिर १ मा उनीहरूले सरकारी कदमको विरोधमा काठमाडौंमा ¥याली निकाल्दै खबरदारी गरेका थिए । मंसिर ४ गते चुनावकै दिन बस्ती खाली गरिसक्नुपर्ने सरकारी सूचना आएसँगै थापाथालीमा रहेको बसोबास क्षेत्रमा दलका उम्मेदवारहरूले अर्को व्यवस्था नभएसम्मका लागि बस्ती खाली गराउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अब काठमाडौं महानगरपालिकाले बस्तीका छाप्रो भत्काउन के चल्ने हो भनेर त्रसित भएर बसिरहेको बताएका छन् । सरकारले पीडामा भएका सुकुम्वासीलाई झन् पीडा थपिदिने काम गरेको उनीहरुको आरोप छ । बस्तीमा डोजर लगाएपछि कहाँ जाने भन्ने टुङ्गो नभएकोले सरकारले पहिले बस्ने व्यस्थापन गरिदिए आफुहरु बस्ती छाड्न तयार रहेको सुकुम्वासीहरुले बताएका छन् ।




















प्रतिक्रिया