Logo

राजनीति

निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि धनगढीमा तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार



काठमाडौं । निषेधाज्ञा तोडेर विद्यार्थी प्रदर्शनमा उत्रिएपछि धनगढी अशान्त बनेको छ । ग्रेडरको ठक्करबाट बिहीबार १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

तर त्यसको अवज्ञा गर्दै आज (शुक्रबार) विद्यार्थी प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन डेढ दर्जन सेल अश्रुग्याँस प्रहार प्रहार गरेको छ । निषेधाज्ञा लागू गरिएको घटनास्थल आसपासको क्षेत्रमा प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरवितर भएका छन् । साथै प्रहरीले विद्यार्थी र स्थानीय महिला गरी ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले आन्दोलनकारी विद्यार्थी र स्थानीयले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस हानेको बताए ।

प्रदर्शनकारीहरुले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ स्थित पिपलचौतारा नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया साउदको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले बिहीबार दिनभर धनगढीमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।