नारायणगाेपाल भन्नेवित्तिकै उनका कालजयी गीतहरू हाम्रा कानमा गुञ्जिन थाल्छन् । म त लाली गुराँस भएछु हाेस् वा याे संझिने मन छ म बिर्सूं कसाेरी नै किन नहाेस्, हरेक नेपालीका कानमा सुमधुर लयमा गुञ्जिन थाल्छ ।
नेपालको सांगीतिक क्षेत्रमा थाेरै तर सुन्दर र लाेकप्रिय गीत गाएर उनी अजर अमर बनेका छन् ।
बि.सं. १९९६ असोज १८ का दिन बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौंको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्य नेपाली सांगीतिक क्षेत्रका सबैभन्दा सफल अनि ख्यातिप्राप्त गायक हुन् । उनलाई नेपालका ‘स्वर सम्राट’को उपाधिले सम्मान गरिएको छ ।
२०४७ मंसिर १९ मा निधन भएका नारायणगाेपालले रत्नशम्शेर थापा, नीर शाह, कालीप्रसाद रिजालदेखि चाँदनी शाहसम्मका गीत गाएका छन् । उनले त्यसबेलाका किशाेर गीतकार दिनेश अधिकारीका गीत पनि गाए ।
जाेकाेहीका र जस्ता तस्ता रचना मन नपराउने उनी निकै चुजी गायकका रूपमा चिनिन्छन् । अत्यन्त जिद्दी र घमण्डी जस्ता लाग्ने उनी मनका भने काेमल भएका उनका समकालीन बताउँछन् ।
नारायण गोपालले करिब डेढ सय नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।

मानविकीमा स्नातकोत्तर गरेका नारायण गोपाल शास्त्रीय सङ्गीत अध्ययन गर्न भारतको ‘माहाराजा सायाजीराव युनिभर्सिटी अफ बडोदा’ गएका थिए तर उनले अध्ययन पूरा नगरी नेपाल फर्किएका थिए ।
नारायण गाेपालबारे केही राेचक कुराहरू छन्, जुन धेरैलाई थाहा नहुन सक्छ । उनका नजिकका अनि असल मित्रहरू माणिक रत्न र प्रेमध्वज प्रधानले हिन्दी गीतमा स्वराभ्यास गरिरहेका बेला नारायण गोपालले ठट्टा गरेर उनीहरूलाई उडाउँदै हिन्दी गीतको लय बिगारेर गाउने गर्थे भन्ने उनका समकालीन बताउँछन् ।
आफ्नो सांगीतिक यात्राको सुरुवातमा ४ वटा एकल गीत (स्वर्गकी रानी, आँखाको भाखा आँखैले, भोभो मलाई नछेक, मधुमासमा यो दिल) र २ वटा युगल गीत (बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वैँस जान लाग्यो) गाएका थिए । यी सबै गीतकाे रेकर्डिङ भारतको कोलकतामा सम्पन्न भएको थियो ।
यसरी नै २०२० को दशकतिर भारतको पश्चिम बङ्गालस्थित पहाडी राज्य दार्जिलिङको भ्रमणको बेला उनले दुई महत्त्वपूर्ण कुरा भेट्टाएका थिए । उनलाई अति नै माया गर्ने प्रशंसक पेमलालाई प्रेमिकाको रूपमा पाए भने त्यहीँ संघर्ष गरिरहेका एक सङ्गीतप्रेमी गोपाल योञ्जनलाई एक असल र सहयाेगी मित्र (मीत)का रूपमा पाए।
आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगमा नारायण गोपालले नाचघरमा वाद्यवादकमा जागिर पाए र उनी विस्तारै त्यहीँका महाप्रबन्धकसम्म भए । उनकाे व्यक्तिगत स्वभावका कारण विस्तारै आफ्ना पुराना मित्रहरूसँग नाता टुटाउँदै गए । याेञ्जनसँग पनि पछिल्लाे समय सम्बन्धमा चिसोपना बढेको थियो ।
नारायण गोपाल इतिहासका जानकार, फुटबलका पारखी, चेसका राम्रा खेलाडी थिए भने कुशल भान्से र साैखिन फोटोग्राफर पनि थिए।
‘बागीना’का प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत भएका नारायण गोपालले गीति नाटक कथा ‘कान्छी मस्याङ’ पनि लेखेका थिए ।
नारायण गोपालले वि.सं. २०२३ मा सर्वोत्तम सङ्गीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु पुरस्कार, २०४० सालमा ईन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वसी रङ्ग पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित र पुरस्कृत भए ।
उनको निधन वि.सं. २०४७ मंसिर १९ गते भयो ।





















प्रतिक्रिया