Logo

पत्रपत्रिका

१९५२ उम्मेदवारको जमानत जफत



प्रत्यक्षमा एक सिट र समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड नकटाउँदा ३४ दलको पनि धरौटी जोगिएन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सदरको १० प्रतिशतभन्दा कम मत ल्याएर ८१ प्रतिशत उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमा दलका १ हजार ५ सय ४५ र स्वतन्त्र ८ सय ६७ गरी २ हजार ४ सय १२ उम्मेदवार रहेकामा १ हजार ९ सय ५२ जनाको जमानत फिर्ता नभएको हो । 

आमनिर्वाचनमा प्रमुख कांग्रेस, एमाले र माओवादीका उम्मेदवारको समेत जमानत जफत भएको छ । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको क्षेत्र भनेर चिनिएको बाँके–२ मा यस पटक कांग्रेसकै उम्मेदवार सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । राप्रपाका धवलशमशेर राणा २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुँदा सुदीपनरसिंहले ४ हजार ४ सय ३ मत मात्रै पाए । कैलाली–१ मा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलको पनि जमानत जफत भएको छ । ०७४ मा टीकापुर नगरपालिकाको मेयर निर्वाचित उनले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ हजार ९ सय १० मत मात्रै ल्याए । त्यहाँ टीकापुर घटनाको पृष्ठभूमिमा उदाएको नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ ३० हजार ४ सय ४ मत ल्याएर विजयी भए ।

माओवादीका २ जना उम्मेदवारको जमानत जफत भएको छ । माओवादी उम्मेदवारमध्ये भक्तपुर–१ मा सुनील गोठे र काठमाडौं–३ मा बद्रीप्रसाद बजगाईंको जमानत जफत भएको छ । गोठेको ५ हजार २ सय ८३ र बजगाईंको ५ सय १८ मत छ । विजेताको मत भक्तपुर–१ मा ४२ हजार ७ सय ६१ र काठमाडौं–३ मा १५ हजार १ सय ५८ मत छ । यस्तै, रामेछाप–१ मा २ सय ९४ मत मात्रै ल्याएका कारण एकीकृत समाजवादीका देवशंकर पौडेलको पनि जमानत जोगिएन । त्यहाँ विजेताको मत ४७ हजार ९९ मत छ ।

काठमाडौं–७ मा जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठको जमानत जफत भएको छ । मनोनयन दर्ता गर्ने बेलासम्म पनि उनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिए । श्रेष्ठ ०५१ र ०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेबाट निर्वाचित भएका थिए । पछि एमाले छाडेका उनी ०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट समानुपातिक सांसद भएका थिए । काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७ सय ४३ मत ल्याएर विजयी हुँदा श्रेष्ठका पक्षमा २ हजार ४ सय ६१ मत खसेको थियो ।

सत्ता गठबन्धनका तर्फबाट पर्सा–१ मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णको पनि जमानत जफत भएको छ । जसपाका प्रदीप यादव २२ हजार ५ सय ३७ मत ल्याएर विजयी हुँदा कर्णका पक्षमा १ हजार १ सय १७ मत मात्रै खसेको थियो । त्यहाँ कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदी २० हजार ९ सय १७ मत ल्याएर दोस्रो भएका थिए । कर्ण संसदीय सुनुवाइ विशेष समितिका पूर्वसभापति कर्णले ०७४ मा पर्सा–४ बाट निर्वाचित भएका थिए । उनी ०६४ र ०७० को संविधानसभामा समानुपातिकबाट चुनिएका थिए । उनले पाएको मतका आधारमा चौथो मात्रै भएनन्, जमानतसमेत गुमाए ।

यसपालिको निर्वाचनमा देशैभरि चर्चा पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका ८२ उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभामा कम्तीमा १ सिट जितेका १२ दलका उम्मेदवारले पाएको मत विश्लेषण गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सय १४, लोकतान्त्रिक समाजवादी पार्टीका ४३, जनमत पार्टीका ३८, जनता समाजवादी पार्टीका ६२ र नागरिक उन्मुक्ति पार्टीका २० जनाको जमानत जफत भएको छ । स्वतन्त्र उम्मेदवार ८ सय ४० जनाको पनि जमानत फिर्ता नहुने भएको छ । नेपाल मजदुर किसान पार्टीका १ सय ७ उम्मेदवारले जमानत जोगाएनन् ।

निर्वाचनमा ५ सय मत पनि नल्याएका उम्मेदवार १ हजार ५ सय २१ जना छन् । यो संख्या कुल उम्मेदवारको ६३ प्रतिशत हो । ५० मत पनि नकटाउने उम्मेदवार ६ सय २९ जना छन् । एक भोट मात्रै ल्याउने ९ जना छन् । आयोगका अनुसार मोरङ–३ का उम्मेदवार चन्द्रकला खत्री र प्रकाश भट्टराईले १/१ मत पाएका छन् । धनुषा–४ मा सञ्जयकुमार यादव र परशुरामकुमार यादव, काठमाडौं–१ मा दुर्गाप्रसाद लिम्बू र खुमकला लामिछाने, काठमाडौं–४ मा महेश्वर केसी, चितवन–१ मा तिलकमणि पाठक र चितवन–३ मा भिम्सिन बस्नेतले १/१ मत मात्रै ल्याए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा प्रत्यक्षतर्फ सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रत्यक्षतर्फका उम्मेदवारले दस हजार रुपैयाँ धरौटी राखेका हुन्छन् । जमानत जफत भएका १ हजार ९ सय ५२ जनाको १० हजारका दरले १ करोड ९५ लाख २० हजार रुपैयाँ सरकारको सञ्चित कोषमा जम्मा हुने भएको छ ।

उम्मेदवारी दिने दलले एक सिट पनि नजिते धरौटी जफत हुने व्यवस्था छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन उम्मेदवारको बन्दसूची पेस गर्ने दलले ५० हजार रुपैयाँ धरौटी राखेका छन् । समानुपातिकमा ४७ दलले भाग लिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षमा एक सिट पनि नजितेका र समानुपातिकमा ३ प्रतिशत मत नपुर्‍याएका ३४ दल छन् । ३४ वटा दलले राखेको ५० हजारको दरले १७ लाख रुपैयाँ पनि राज्यको सञ्चित कोषमा जानेछ । ३४ मध्येकै दलले प्रदेशसभामा पनि उम्मेदवारी दिएका छन् । प्रदेशमा पनि एक सिटसमेत नजिते धरौटी जफत हुन्छ ।

एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । यसबाहेक लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले पनि प्रत्यक्षमा जितेका छन् । कानुन मन्त्रालयका पूर्वसचिव माधव पौडेलले उम्मेदवारलाई थप जिम्मेवार बनाउन धरौटी राख्ने र निश्चित मत नल्याए धरौटी जफत हुने प्रावधान राखिएको बताए । ‘जसले पायो उसले उम्मेदवारी नदेओस् भनेर कानुनमा धरौटीको व्यवस्था गरिएको हो । उम्मेदवारले निश्चित मतदाताको विश्वास जित्नै पर्ने हुन्छ,’ उनले भने, ‘यो प्रावधान राख्ने हो भने डमी उम्मेदवार र एजेन्टको संख्या बढी हुन्छ ।’

सबैभन्दा बढी मत ओलीलाई

एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा बढी मत पाएका छन् । ओली झापा–५ मा ५२ हजार ३ सय १९ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत ल्याएका छन् । दोस्रो बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको छ । उनले चितवन–२ मा ४९ हजार ३ सय मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए । यो मतान्तर सबैभन्दा बढी हो । भक्तपुर–१ मा विजेता नेमकिपाका प्रेम सुवाल र निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज गेलालको मतान्तर ३० हजार ७ सय ९३ छ ।

कांग्रेसका उम्मेदवार सुनील शर्माले मोरङ–३ मा ४८ हजार ६ सय ३१ मत ल्याउँदै एमालेका उम्मेदवार भानुभक्त ढकाललाई हराएका छन् । ०७४ मा ढकालले शर्मालाई हराएका थिए ।

कम मतले पराजित आङ्देम्बे

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे सबैभन्दा कम मतान्तरले पराजित उम्मेदवार हुन् । उनी पाँचथरमा एमालेका वसन्तकुमार नेम्वाङसँग ४६ मतले हारेका हुन् । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउँदा आङ्देम्बेका पक्षमा ३२ हजार ८९ मत खसेको थियो ।

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १ सय १२ मतान्तरले विजयी भएका छन् । सुनसरी–४ मा उनी ३० हजार ४ सय ८३ मत विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका जगदीशप्रसाद कुसियतको ३० हजार ३ सय ७१ मत थियो । कम मतले चुनाव जित्नेमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि हुन् । उनले इलाम–२ मा कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई १ सय १४ मतले हराएका छन् । धनुषा–४ मा एमालेका रघुवीर महासेठले कांग्रेसका महेन्द्र यादवलाई १ सय १४ मतले उछिनेका छन् । काठमाडौं–१ मा विजयी कांग्रेसका प्रकाशमान श्रेष्ठ र निकटतम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्रको मतान्तर १ सय २५ छ ।

महिला विजेता ९ जना

प्रतिनिधिसभा सदस्य निर्वाचनमा २ सय २५ महिलाको उम्मेदवारी परेको थियो, जुन कुल उम्मेदवारको ९.३२ प्रतिशत हो । निर्वाचनमा ९ महिलाले मात्रै जित हासिल गरेका छन् । यो संख्या निर्वाचितमध्येको ५.४५ प्रतिशत हुन्छ । प्रत्यक्षमा निर्वाचित महिला न्यून भएका दलले समानुपातिकबाट ३३ प्रतिशत हिस्सा पुर्‍याउनुपर्ने बाध्यकारी व्यवस्था छ । प्रत्यक्षमा एमालेका सबैभन्दा बढी ४ जना निर्वाचित भएका छन् ।

एमालेबाट सुनसरी–३ मा भगवती चौधरी, धनुषा–३ मा जुलीकुमारी महतो, बारा–३ मा ज्वालाकुमारी साह र कास्की–२ मा विद्या भट्टराई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसिमा कार्कीले चुनाव जितेका छन् । कांग्रेसबाट तेह्रथुममा सीता गुरुङ, माओवादीबाट दाङ–२ मा रेखा शर्मा र कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चुनिएका छन् ।

शक्तिशाली नेताको हार

गृहमन्त्री बालकृष्ण खाँणलाई रूपन्देही–३ मा राप्रपाका दीपक बोहराले हराएका छन् । ऊर्जामन्त्री पम्फा भुसाल ललितपुर–३ मा पराजित भएकी छन् । खानेपानीमन्त्री उमाकान्त चौधरी बारा–१ मा एमालेका अच्युतप्रसाद मैनालीसँग हारे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८, राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा पराजित भए । पूर्वसभामुख ओनसरी घर्तीले काठमाडौं–२ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं–५ बाट चुनाव हारे । एमाले महासचिव शंकर पोखरेल दाङ–२ मा माओवादीकी रेखा शर्मासँग पराजित भए । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग चुनाव हारे । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम–१ मा एमालेका महेश बस्नेतसँग पराजित भए । एकीकृत समाजवादीकै उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर–२ मा रोकिए । माओवादीका महासचिव देव गुरुङले लमजुङमा चुनाव जित्न सकेनन् ।

अघिल्लो संसदीय समितिका चार सभापति चुनावमा पराजित भए । तत्कालीन लेखा समिति सभापति भरत शाह, महिला बालबालिका समितिकी नीरू पाल, कानुन न्याय तथा मानवअधिकार समितिका कृष्णभक्त पोखरेल र सुनुवाइ समितिका लक्ष्मणलाल कर्णले चुनाव हारेका हुन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार ०९:३७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।