Logo

राजनीति

महाकाली नदीमा एकतर्फी संरचना बनाएकाे विराेधमा भारतलाई पठाइयो कूटनीतिक नोट



काठमाडौं । महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालयले सीमानदी नेपाली भूमितर्फ धकेलिने गरी संरचना निर्माण गरेको विषयलाई लिएर मंगलबार दिउँसो काठमाडौंस्थित भारतीय राजदूतावासलाई कूटनीतिक नोट पठाएको हो ।

कूटनीतिक नोटमा नेपालको सहमतिविना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने पनि नोटमा उल्लेख गरिएको छ ।

भारतको धार्चुला र नेपालको दार्चुलाको सीमानदी महाकालीको किनारमा भारतले एकतर्फी रुपमा करिब एक वर्षयता तटबन्ध निर्माण गरिरहेको छ । नेपालको दार्चुलाका स्थानीय बासीले उक्त तटबन्ध निर्माणको निरन्तर विरोध गरेपछि भारतीय पक्षबाट आक्रमण भइरहेको थियो । केही दिनअघि मात्रै तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहान हुँदा नेपाल पक्षका केही घाइतेसमेत भएका थिए ।

प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार  ५ : ४१ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।