पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले प्रेसमाथि अंकुश लगाउने काम कहिँ कतैबाट पनि हुन हुँदैन भन्नेमा प्रदेश सरकार स्पष्ट रहेको भन्दै प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने मुख्यमन्त्री पोखरेलको भनाइ बुझाइ छ । सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै उनले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताए । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पारे ।
विकास र पत्रकारिता सँगसँगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उनले जोड दिए । श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताए ।
पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसँग सधैँ साथमा रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताइन् । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उनले स्पष्ट पारिन् ।
आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिबद्धता जनाइन् ।
विभिन्न प्रस्ताव पारित
साधारणसभाले नेपाल पत्रकार महासंघ कास्की शाखाले संस्थागत सुशासन र पारदर्शिता कायम गर्दै सदस्यता शुद्धिकरणलाई निर्ममताका साथ कार्यान्वयन गर्ने, न्यूनतम् पारिश्रमिक कार्यान्वयन गराउन सबै सञ्चार गृहसँग अपिल गर्दै निरन्तर अनुगमन र खबरदारी गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्नका लागि सबै पत्रकारहरुलाई अपिल गर्दै आचारसंहिता पालना भए, नभएको अनुगमन गरी आगामी साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्ने, पत्रकार महासंघको सचिवालय अपांगमैत्री बनाउने र कास्कीमा सञ्चालित सरञ्चागृहलाई अपांगमैत्री बनाउन आग्रह गर्ने साधारणसभाद्वारा प्रस्ताव पारित गरिएको छ ।
यस्तै, महासंघका पदाधिकारी तथा सदस्यहरुले बैठकमा प्रस्तुत भएका एजेन्डामाथि लिखित रुपमा छलफलमा सहभागी हुने, बैठकमा उपस्थित हुन नसकेमा अर्को बैठकमा स्पष्टीकरण दिनुपर्ने र विना जानकारी लगातार तीन वटा बैठकमा उपस्थित नभएमा कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
साधारणसभामा प्रस्तुत भएको सचिव माधवप्रसाद बरालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण दवाडीको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।




















प्रतिक्रिया