Logo

राजनीति

समानुपातिक सांसद चयनप्रति रास्वपामा चरम असन्तुष्टि, आफ्नालाई काखी च्यापिएको आरोप



काठमाडौं । समानुपातिक सांसद चयनमा आफ्नालाई काखी च्यापिएको भन्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा चरम असन्तुष्टि देखा परेको छ । पार्टीका केन्द्रीय समिति सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नी गुरुमालाई गुरुदक्षिण स्वरूप समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् ।

पार्टीले शनिबार समानुपातिकबाट आफ्नो भागमा परेको १३ प्रतिनिधिसभा सांसदको नाम निर्वाचन आयोगमा बुझाएपछि कार्कीले यस्तो टिप्पणी गरेका हुन् । महामन्त्री ढकालले पार्टीको थितिविपरीत आफ्नी गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर स्वरूप समानुपातिक सांसद नबनाएको भए आफू सांसद बन्ने कार्कीको भनाइ छ ।

‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए’, कार्कीले सामाजिक संजालमा लेखेका छन्, ‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो ।’ कार्की खसआर्य खुलातर्फको दोस्रो नम्बरमा थिए ।

यसअघि बिहीबार समानुपातिक सांसाद चयनका क्रममा चलखेल भएको भन्दै रास्वपा केन्द्रीय कार्यालय बसुन्धारामा नेता–कार्यकर्ताले खबरदारी गरेका थिए । समानुपातिकतर्फ सांसद चयन पार्टी विधि, पद्धति र सिद्धान्त मिचेर प्राइमरी इलेक्सन र बन्दसूचीको क्रमसंख्याभन्दा बाहिर गएर गरिएको भन्दै त्यसविरुद्ध सुनसरी जिल्ला सभापति लालविक्रम थापासहितका नेता कार्यकताले खबरदारी गरेका थिए ।

  • सम्बन्धित समाचार

समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै स्वतन्त्र पार्टीको कार्यालयमा खबरदारी

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १८:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।