१९९२ साल असार १८ गते असाममा जन्मिएका हरिभक्त कटुवाल तीसको दशकका चर्चित कवि तथा गीतकार हुन् । कटुवाल २०२४ सालममा नेपाल आएका थिए ।
कवि हरिभक्त कटुवाल जटिल परिवेशमा बाँचेका चर्चित कवि हुन् । आफ्नो सम्पूर्ण जीवनकाल कविकै परिचयमा व्यतित गरेका उनको जीवन कुनै नाटकको दुखान्तः पात्रको झैं घात प्रतिघातमा बितेको थियो । विक्रम संवत् २०२० देखि २०३७ सालसम्म साहित्य लेखनमा निरन्तर क्रियाशील उनको ऊर्जाशील जीवन नेपालमा नै बितेको थियो ।
बिभिन्न समस्याहरुसँग जुधेर उनले नेपालमा लगभग १३ बर्ष बिताए । २०३७ साल जेठमा नेपाल छोडेका कटुवालको सोही बर्ष भदौ २५ गते निधन भयो । नेपाली गीत कविताको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका उनै कटुवालका केहि कविताहरू ।
म कवि
आफैंलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै आज कविता सोच्नै मान्दैन
शायद त्यसैले होला सुनगाभा !
तिम्रो मुस्कानभन्दा मेरो आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घन्टौं एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टीतेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए
जाती हुन्थ्यो बरू म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टीतेल हुन सकेको भए
मेरो देशको एउटा घरमा एक रात, एक छाक बल्न सक्थें
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थें
तर, सुनगाभा !
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
– जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।
००
रहर
बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
खिया लागेका कलका पुर्जाहरूजस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने–
केवल इतिहासका पानाहरूमा
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।
इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई
योजनाले होइन
पैँतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मैऽऽ
धरतीले बोकाएका ऋणहरूको ।
बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।
००
सिउन सकिन्न फाटेको मन, झन् फाट्छ
यसपल्टको जाडो कसकसले कसरी छेल्ने हुन् कुन्नि !
आफ्नो त दुखेको एउटा मन छ– बिहानैपिच्छे भत्किने
खै अचेल एक बैँस पनि मज्जाले हाँसेको कोही देखिँदैन
कहाँकहाँ उठाऊँ जताततै पोखिएको यो आकाशलाई ?
सपनाको बिस्कुन हालेर आँखाहरूको आँगनमा
कति पर्खन सक्छ कोही कसैलाई ?
सिउन सकिन्न फाटेको मन झन् फाट्छ ।
यहाँ हतार छ
कसैलाई कसैको गमलामा फुल्ने हतार
हतार छ जुरेलीलाई– यसै हिउँदमा कम्लाउने हतार
रङरोगन फेरेर सकिने भए फर्काउन बैँस
त्यसो पनि त गर्न हुन्थ्यो ।
कोसित सापट लिएर उत्कण्ठा अब कुन चौतारी कुरूँ ?
एक भाका हाल्नै नपाई पिरतीको
खै बैँस कसरी काटिएछ ?
थाहै नपाई कुत्कुती
यो मन कहाँ, कोसित साटिएछ ?
यसपल्ट जाडोको पहिलो सिरेटोले छुँदा
मैले छामिहेरेँ ओछ्यानमा तिमीलाई यताउता
चिसो अनुपस्थिति एक अँगालो यो वर्षलाई पनि तिमी पुग्यौ
खै कहिले आउने तिमी–
पोल्टाभरि एक घान न्यानो घाम बोकेर ?
००
मन त फलामकै भए असल हुन्छ
मन त फलामकै भए असल हुन्छ
न घात–प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ
कसैले चिमोट्यो–
एक कप्टेरा त्यतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो–
उसैको पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको बह कसैसित नकह
कसले बुझ्छ ? कसले सुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो, मन उतै भुल्यो
बैँसले जाऊँ है भन्न लाग्यो– पीर झनै ठूलो
आकाश देख्यो– आकाशजस्तै
बतास देख्यो– बतासजस्तै
नौनीजस्तो मेरो मनलाई
जसले पायो, उसले छुन्छ
त्यसैले पनि
मन त फलामकै भए असल हुन्छ ।
००
यो जिन्दगी खै के जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्रै खोक्रिएर बाहिर–बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
बन्दुकको नालमा टाउको राखेर निदाउनुपर्छ यहाँ
खुकुरीको धारमा पाइला टेकेर जिउनुपर्छ यहाँ
आँखा चिम्लन पनि जग्जगी !
आँखा उघार्न पनि जग्जगी !
यो जिन्दगी खै के जिन्दगी !
पसलमा सोकेशभित्र सजाइराखेको
काँचको चुरोजस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी
रबरका सस्ता चप्पलजस्तै यो जिन्दगी
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी
यो जिन्दगी खै के जिन्दगी !
००
















प्रतिक्रिया