काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अलग पहिचान बनाउनतिर लाग्न नेता–कार्यकतालाई आग्रह गरेका छन् । पछिल्लो समय माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको भन्दै उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औंल्याए ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण–व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको बताए । ‘माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’
जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने जस्ता आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको प्रचण्डको भनाइ थियो । आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकामात्र यो संगठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनले बताए ।




















प्रतिक्रिया