काठमाडौं । सरकारले विभिन्न कसुरमा संलग्न भएर कारागारमा रहेका विभिन्न राजनीतिक समूहका नेता-कार्यकर्ताको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुलुकी फौजदारी संहिता संशोधन गरी मुद्दा फिर्ता लिन सहज हुनेगरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
अहिले नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका रेशम चौधरी र उनीसहित टिकापुर घटनामा मुछिएका व्यक्तिहरु, नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । नयाँ सरकार गठनमा सहयोग गर्नका लागि अहिले नागरिक उन्मुक्ति र जनमत पार्टीले सत्तागठबन्धनसँग मुद्दा फिर्ता र बन्दी रिहाईको सर्त राखिरहेका छन् ।
उनीहरुका सर्तलाई सम्बोधन गर्न ‘कामलचाउ’ अवस्थामा रहेकाे सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो । यस्तो अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि कार्यान्वयनमा आउनेछ । सरकारले देवानी फौजदारी संहिता कार्यविधिमा व्यवस्था थप्न लागेको बताइएको छ ।
हाल रहेको व्यवस्थामा निश्चित किसिमका अपराधमा संलग्नलाई कुनै पनि कानुनले माफी दिन नमिल्ने व्यवस्था छ । अध्यादेश मार्फत संशोधन गर्न लागिएको व्यवस्थामा कुनै घटनामा संलग्न राजनीतिक व्यक्तिहरुलाई माफी दिने व्यवस्था गर्न लागिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार अध्यादेशले गर्न लागेको व्यवस्था भविष्यमा कायम नहुने गरी अहिले जेलमा रहेका राजनीतिमा आबद्ध कैदीबन्दीहरुका लागि मात्र हो ।
सरकारले अध्यादेश ल्याउने भएपछि चाैतर्फी विराेध सुरु भएकाे छ । सरकारकाे याे कदम असंवैधानिक भएकाे भन्दै कानुन तथा संविधानविद् र नेकपा एमालेले पनि अध्यादेश ल्याउने सरकारी निर्णयप्रति आपत्ति प्रकट गरेका छन् ।




















प्रतिक्रिया