काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकिएको भएपनि विवाद थप चर्किँदै गएको छ । पार्टीभित्रको असहमतिकै बिच शनिबार राप्रपाले समानुपातिकबाट प्रतिनिधिसभा र प्रदेशसभामा सांसद बन्नेको सूची पठाएको थियो ।
तर यो विषय राप्रपाभित्र थप पेचिलो बन्दै गएको छ । गण्डकी प्रदेशसभामा कास्कीबाट समानुपातिक सांसद नछानिएको भन्दै कास्की र गण्डकीको प्रदेश कार्यालयमा कार्यकर्ताले ताला लगाएका छन् । राप्रपाले प्रत्यक्षतर्फ जित्न नसके पनि गण्डकी प्रदेशसभामा समानुपातिक पद्धतिबाट २ सिट पाएको छ ।
कास्कीका राप्रपा कार्यकर्ताले सबैभन्दा बढी मत आएको जिल्ला कास्कीलाई छाडेर अन्य जिल्लाबाट सांसद छानिएको भन्दै आइतबार साँझ तालाबन्दी गरेका हुन् । गण्डकीबाट २ जना समानुपातिक सांसद पाउँदा राप्रपाले पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्च तमु र नवलपुरकी विन्दु पहाडी छानिएका छन् ।
तमु आदिवासी जनजातितर्फ र पहाडी खसआर्य महिलातर्फबाट १ नम्बरमा थिए । तर, कास्कीका कार्यकर्ताले भने मिलाउने ठाउँ हुँदाहुँदै पनि कास्कीलाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।




















प्रतिक्रिया