भरतपुर । चितवनमा विवाह भोज खाएका पाँच सय जना एकसाथ बिरामी परेका छन् ।
भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका उनीहरू बिरामी परेका हुन् । बिरामी भएकामध्ये ३० जना भन्दा बढी उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन् । अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीले एउटै भोजमा सहभागी ६५ जना अस्पताल आइपुगेको बताए ।
उनीहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएका थिए ।ढकाल र अधिकारी पनि सामान्य बिरामी छन् । नेशनल सिटी अस्पतालमा उपचार गराइरहेका गैंडाकोटका सविन लम्सालले भोजमा सहभागी बिरामीले अस्पताल भरिएको बताए ।
होटलका प्रबन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको बताए । उपचाररत बिरामीहरुले फूड पोइजनको विषयमा छानबिन हुनुपर्ने र उपचार खर्च होटलले व्योहोर्नुपर्ने माग गरेका छन् ।




















प्रतिक्रिया