काठमाडाैं । नेपाल धितोपत्र बोर्डले रिडी पावर र नेपाल हाइड्रोलाई कारबाही गर्ने निर्णय गरेको छ । बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही गर्ने निर्णय गरेको हो ।
न्यौपाने र प्राधनले आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको पाइएको छ । सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ ।
दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको सेयर बिक्री गरेका थिए । रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले सेयर किनबेच गरेको तथ्य फेला परेको बोर्डका एक सदस्यले बताएका छन् ।
धितोपत्र ऐनको दफा ९१ मा तोकिएको अनुसार इन्साडर ट्रेडिङ(भित्री कारोबार) गरेको पुष्टि भएमा दफा १०१ को उफदफा १ अनुसार बिगो बमोजिमको जरिवाना र एक वर्षसम्म कैदा वा दुबै सजाय हुन सक्नेछ ।




















प्रतिक्रिया