Logo

कर्पोरेट फोकस

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने



काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधिसम्बन्धी तालिम दिने भएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधिसम्बन्धी तालिम दिन लागिएको हो । तालिमसम्बन्धी सम्झौतापत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यावसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरे । सूचना प्रविधिको विकास तीव्रगतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपूर्ण भएको अध्यक्ष मल्लको भनाइ छ। विद्युतको उपलब्धतासँगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए ।

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीय तह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागी इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र कमिटीसमेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रवर्द्धन, वेबसाइट डिजाइनलगायतका बिषयमा तालिम दिइने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन् ।

लर्ड बुद्ध फाउन्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वद्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए । अनलाइन एपको विकाससँगै लेखासम्बन्धी तालिमसमेत दिइने उनको भनाइ छ ।

तालिमसम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताए ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार ११:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।