Logo

राजनीति

सर्वोच्चलाई महासचिव गौतमको जवाफ : पूरानो संसद्को प्रस्ताव नयाँ संसद्को विषयवस्तु हुँदैन



काठमाडौं । निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रकरणमा सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले पठाएका छन् । गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि निम्बनमा रहेका जबरालाई मंसिर २१ गते बुधबार गौतमले महाअभियोग निष्प्रभावी भएको पत्र थमाएका थिए ।

महासचिव गौतमको उक्त पत्रविरुद्ध दायार रिटमा सर्वोच्चले पत्र कार्यान्वयन नगर्न भन्दै कारण देखाऊ आदेश जारी गरेकाे थियो । त्यसको जवाफमा आफ्नो कदमको बचाउ गर्दै गौतमले पूरानो प्रतिनिधिसभामा विचाराधीन प्रस्ताव नयाँ प्रतिनिधिसभाका लागि विषयवस्तु हुन नसक्ने दाबी गरेको छन् । गौतमले सर्वोच्चलाई पठाएको लिखित जवाफमा प्रतिनिधिसभाको विघटन आयु सकिएपछि विचाराधीन रहेका विधेयक पनि निष्क्रिय रहने संवैधानिक व्यवस्था रहेको उल्लेख छ ।

‘नेपालको संविधानको धारा १११ को उपधारा १० को प्रतिबन्धात्मक वाक्यांशमा रहेको, तर कुनै विधेयक प्रतिनिधिसभामा प्रस्तुत भई विचाराधिन रहेको वा प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधिसभा विघटन वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ भन्ने संवैधानिक व्यवस्थालाई मध्यनजर गर्दा प्रतिनिधिसभाको कार्यकाल समाप्त भइसकेको तथा निर्वाचनबाट नयाँ प्रतिनिधिसभाका सदस्यहरू निर्वाचित भइसक्नुभएको सन्दर्भमा महाअभियोग सिफारिस समितिको प्रतिवेदन उपरको कारबाहीको निन्तरता कायम रहने देखिँदैन’, गौतमको लिखित जवाफमा भनिएको छ ।

प्रतिनिधिसभामा गत फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । संसद सचिवालयबाट महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पाएपनि पुन: सर्वोच्च फर्कने जबराको चाहना भने अधुरै रह्यो । उनले गत मंसिर २७ गते रातिबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन् ।

प्रकाशित मिति : ३ पुष २०७९, आईतवार १८:४४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।