Logo

राजनीति

‘पृथ्वीनारायणको योगदानप्रति विवाद गर्नु आवश्यक छैन’



काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रनिर्माण पृथ्वीनारायण शाहबाट भएको भूमिका बारेमा कसैले विवाद गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । तीन सय एकऔँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज यहाँ आयोजित चियापान कार्यक्रमा उहाँले राज्य विस्तारकै क्रममा वस्तुगत तहमा नेपालको भूभागको पुनः एकीकरण उनीमार्फत भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले भने, “पृथ्वीनारायणको योदानलाई सम्मान गर्दै सरकारले आजको दिनलाई बिदा दिने कार्यले ऐतिहासिक महत्त्व स्थापित भएको छ ।” नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पृथ्वीनारायणको योगदानका विषयमा कुनै विवाद नै नरहेको टिप्पणी गरे ।

उनले भने, “आफूले पहिलेदेखि भन्दै आएको विषय हो, नयाँ मान्यता बोकिएको होइन, राष्ट्रका विभूतिमध्ये उहाँ एक हुनुहुन्छ । जसले विदेशीसँग लडेर आफनो भूमि रक्षा ग¥यो, आधुनिक नेपाल निर्माणमा भूमिका खेल्यो, त्यसको योगदान बिर्सने कुरै आउन्न, उहाँको शालिक तोडफोड हुँदा त्यस बेला विरोध गर्ने मै हुँ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र बनाउन र बचाउन राष्ट्रिय एकताको आवश्यकता रहेको आफूले भन्दै आएकामा अहिले त्यो अभ्यासमा मुलुक रहेको बताए । उनले भने, “मुलुकलाई एकीकरण गरेर नेपाली भन्न राष्ट्रनिर्माता पृथ्वीनारायण जन्मजयन्ती मनाउनु हाम्रा लागि खुसी र गौरवको विषय हो । औपचारिकता पूरा गर्न मात्र यो दिवस मनाउने होइन, साँच्चिकै राष्ट्रलाई एकताबद्ध बनाएर मुलुक निर्माण गर्नुछ ।”

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार २१:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।