Logo

प्रमुख समाचार

सभामुखलाई पूर्वसभामुख पौडेलको सन्देश : पक्ष–विपक्षलाई सन्तुलन मिलाउन अफ्ठ्यारो छ



काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वसभामुख रामचन्द्र पौडेलले सभामुखको जिम्मेवारी चुनौतीपूर्ण हुने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख र उपसभामुखलाई बधाई ज्ञापन गर्दै सभामुखको जिम्मेवारी अन्य भूमिकाभन्दा भिन्न रहेको बताए ।

पौडेलले आफूले सभामुख हुँदाको अनुभव सुनाउँदै विधिको शासनलाई स्थापित गर्न सभामुखको महत्त्वपूर्ण भूमिका हुने बताए । ‘सभामुखको जिम्मेवारी अति चुनौतीपूर्ण छ । सभामुखको जिम्मेवारीमा रहँदाखेरि पक्ष र विपक्षलाई सन्तुलन मिलाएर लग्ने कुरा धेरै नै अफ्ठ्यारो छ ।’

त्यस्तो बेला पनि सभामुखले सन्तुलन कायम गर्न कुशलता देखाउनुपर्ने आवश्यता हुने उनले बताए । ‘सभामुखको हैसियतमा मैले पनि केही अनुभव प्राप्त गरेँ । त्यसैले अहिले यो घडीमा सभामुखजीलाई मेरो शुभकामना छ, सदनमा पक्ष–विपक्षको सन्तुलन मिलाएर लैजानुहोला’, उनले भने ।

नेता पौडेलले विधिको शासनलाई स्थापित गर्नका लागि सभामुखले दृढ भएर निर्णय लिन सक्नुपर्ने बताए । ‘विधिको शासन नै लोकतन्त्र हो, त्यसकारण विधिको शासनलाई सबैले मान्नुपर्छ । पूर्वाग्रह राखेर काम गर्न मिल्दैन, सभामुखले त्यस्तो विषयमा जोगिएर काम गर्नुहोला,’ उनले भने ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १४:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।