काठमाडौँ । नायक राजबल्लभ कोइराला अभिनयमा पुनरागमन गर्दै छन् । सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका नायक कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएको हुन् ।
पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखिएपछि झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन् । कोइरालाले भने, “मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।”अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए ।
नायक प्रदीप खड्का र नायिका वर्षा सिवाकोटीपश्चात नायक कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले जानकारी दिए । “हामीलाई चाहिएको लुक्स र कलाकार पाएका छौँ । नायक कोइरालाले अभिनय गरेका गुरु दक्षिणा, छोडी गए पाप लाग्ला, पहिलो पहिलो माया, किन लाग्छ माया, पल, मसान, अपवाद, सो सिम्पल, ६ एकान ६, हाइवे टु धम्पुसलगायतका चलचित्रको चर्चा हुने गर्छ ।
स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको सङ्घर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाँङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले बताए । यसमा महेश दबाडीको पटकथा र संवाद, सौरभ लामाको छायाँङ्कन, एसडी योगी र एलिस कार्कीको सङ्गीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहनेछ । नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ ।





















प्रतिक्रिया