काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् ।
शुक्रबार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा, स्वास्थ्य हरेक कुरामा व्यापार गरिरहेको बताइन् । उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको बताइन् ।
उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् । ‘आर्यघाटमा जल्न त महंगो भइसक्यो । कसले डोनेसन देला र लास जल्ला भन्ने भइसक्यो । समाज यो अवस्थामा पुगिसकेको छ’पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन् ।
उनले भनिन् ‘अहिले त के भयो भयो, शिक्षा व्यापार, स्वास्थ्य व्यापार, हरेक कुरामा व्यापार छ । कतिपय बुबाआमालाई पढाउने रहर छ, छोराछोरीलाई पनि पढ्ने रहर छ तर हैसियत छैन’, उनले भनिन्, ‘जग्गा बेचेको छ, ऋण लिएको छ, घर जग्गा यी कुराहरु केही पनि होइनन् । पढाइका अगाडि घर, जग्गा केही होइनन् । आफ्ना सन्तानलाई राम्रोसँग पढाएको रहेछ भने सन्तान राम्रोसँग पढ्नु नै सम्पती हो ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेलसम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् ।





















प्रतिक्रिया