Logo

प्रमुख समाचार

पूर्वाञ्चल विश्वविद्यालयमा विशेष आवश्यकता शिक्षाको अनुगमन



विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राडा डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरीक्षण गरेको छ ।

चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्रतर्फ स्नातक तहमा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमन गर्न चार सदस्यीय प्राध्यापकको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आवश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीसँग बुधबार छलफल र अन्तक्रियासमेत गरेको छ ।

कोरियाली प्राध्यापकको टोलीले भने अध्ययन र सिकाइ प्रक्रियाका विषयमा विद्यार्थीसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै उनीहरुले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए ।

कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको उनहरुको भनाइ छ । कला, शिक्षा तथा कानुन सङ्कायका डिन प्रा डा अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौलालगायतको टोलीसँग कोरियाली प्राध्यापकको टोलीले छलफलसमेत गरेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा गत वर्षदेखि शिक्षा सङ्कायतर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहीबार ११:१४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।