Logo

प्रमुख समाचार

कस्तो छ राष्ट्रपति निर्वाचनका लागि सुरक्षा व्यवस्था ?



काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मतदान केन्द्र, मतदाताको सुरक्षा, मतपेटिका, मतदान सामग्रीदेखि मतगणना स्थलको सुरक्षा तयारीबारे जानकारी गराएको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति निर्वाचनस्थलमा कुराकानी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले राष्ट्रपतिको निर्वाचनका लागि करिब ९ सय जना जनशक्ति परिचालन गरिएको जानकारी दिए । उनका अनुसार मतदानमा बाधा अवरोध नहोस् भन्नका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रवेश गर्ने क्षेत्रमा आवश्यक संख्यामा सिनियर अधिकारीको नेतृत्वमा सुरक्षाकर्मी खटाइएको छ ।

एसएसपी कार्कीले फरार सूचीमा रहेका मतदाताहरुलाई समेत निगरानी गरिने बताए । मतदान अगाडि सबै मतदाताको सहजीकरण गर्ने, उनीहरुको बसोबासको क्षेत्रको सुरक्षा मिलाउने, मतपेटिकाको सुरक्षा, मतदान सामग्रीको सुरक्षा, लाइनको व्यवस्थापन, कुनै पनि प्रज्वलनशील पदार्थ तथा मोबाइल र क्यामेरा लान नदिनेगरी प्रबन्ध गरिएको उनले बताए । गोप्य मतदान हुने भएकाले फोटो खिच्न नदिइने एसएसपी कार्कीले बताए ।

एसएसपी कार्कीले मतदान गर्दाको लाइन तथा अन्य व्यवस्थापनको कुरामा मतदान अधिकृतसँग समन्वय गरेर काम गरिने पनि बताए । मतदान तथा मतगणनामा एकैपटक एउटै पक्षको दुइटा प्रतिनिधि बस्न नदिइने भन्दै उनले मतगणनामा अवाञ्छित गतिविधि हुन नदिन विशेष सतर्कता अपनाइएको बताए ।

राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान तय गरिएको छ । राष्ट्रपति पदका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ र कांग्रेसबाट रामचन्द्र पौडेल उम्मेदवार छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार २२:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।