काठमाडौं । इमान्दार र निस्कलंक छवि भएका नेताका रुपमा चिनिँदै आएका नेपाली कांग्रेसका सादगी नेता रामचन्द्र पौडेल अन्ततः मुलुककै अभिभावकीय भूमिकामा पुगेका छन् । १६ वर्षकै उमेरमा राजनीतिमा छिरेका उनी २०४८ सालयता निरन्तरजसो संसदीय राजनीतिमा छन् । उनी पटक–पटक सांसद, उपप्रधानमन्त्री, मन्त्री तथा उपसभामुख भए । पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । तर, सरकार र पार्टी दुवैतर्फ (कार्यकारी पद)को पहिलो स्थान हासिल गर्न भने कहिल्यै सकेनन् । अहिले उनी (मर्यादाक्रमका आधारमा) संविधानको रक्षक तथा राष्ट्रको अभिभावकका रुपमा पहिलो नम्बर (आलंकारिक राष्ट्रपति)मा पुगेका छन् ।
पौडेलले कार्यकारीतर्फ पनि पहिलो बन्ने प्रयासै नगरेका त हुँदै होइन । नेपालकै राजनीतिक इतिहासमा प्रधानमन्त्री पदका लागि धेरै प्रतिस्पर्धा र धेरै पराजय भोगकेको कसैले छ भने उनै पौडेल हुन्, जो १७ पटक प्रधानमन्त्रीको प्रतिस्पर्धामा हारेका व्यक्ति हुन् ।
पौडेल कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको आकस्मिक निधनपछि २०७२ मा पार्टीको कार्यवाहक सभापति बनेका थिए । महाधिवेशनपछि उनले ‘कार्यवाहक’ को फुर्को हटाउन चाहेका थिए । तर यसमा सफल भएनन् । पौडेल विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रमाउँदै आएका छन् ।
औपचारिक शिक्षा
विसं. २००१ सालको असोजमा तनहुँको (तत्कालीन रिस्ती गाविस) बाहुनपोखरामा जन्मेका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् । उनले संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् ।
अध्ययनमा विशेष रुचि राख्ने पौडेलका प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रा लगायत आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनी चार छोरी र एक छोरा गरी पाँच सन्तानका पिता हुन् ।
०४४ यता निरन्तर कांग्रेसको कन्द्रीय सदस्य
रामचन्द्र पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । वीपी कोइरालालाई राजा महेन्द्रले ०१७ सालमा जेल हालेपछि राजनीतिमा छिरेका उनी त्यसपछि कहिल्यै बाहिर निस्केकनन् ।
०१८ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाएका थिए । ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता बनेका उनी ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित भए । ०२४ सालमा पौडेल प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा बने । ०२७ सालमा उनी नेपाल विद्यार्थी संघको संस्थापक केन्द्रीय सदस्य बने । ०४० सालमा नेपाली कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बनेका पौडेल ०४४ मा कांग्रेसको केन्द्रीय सदस्य बनेका हुन् । त्यसयता उनी निरन्तर केन्द्रीय समितिमा छन् ।
पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् ।
संसदीय राजनीतिमा पकड, पटक–पटक मन्त्री
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा पहिलो पटक तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रो पटक ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने ।
पौडेल ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । ०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र ०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले ।
०६२ सालमा पार्टीको महामन्त्री चुनिएका पौडेल माओवादी समेत संलग्न रहेको सरकारमा ०६३ मा शान्ति तथा पुनर्निमाण मन्त्री भए । ०६४ सालमा उनी कांग्रेसको उपसभापति भए । सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित भए । ०६५ मा उनी कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक बाजी मारे ।
प्रधानमन्त्रीमा १७ पटक पराजित
लामो संसदीय राजनीतिको अनुभव संगालेका पौडेलको राजनीतिक जीवनमा प्रधानमन्त्रीमा १७ पटकसम्म पराजय ब्यहारेको पीडा भने एउटा कालो धब्बाका रुपमा रहेको छ । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधानअनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो ।
आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथले बाजी मारे भने पौडेलको पोल्टामा हार नै पर्यो ।
‘सम्बन्ध सेतु’को काममा खप्पिस
नेपाली कांग्रेसमा समन्वयकारी भूमिका खेल्न खप्पिसमध्येका एक हुन् रामचन्द्र पौडेल । युवा अवस्थामा नै शीर्ष नेताहरुबीचको अन्तरसंघर्षका क्रममा उनले ‘सम्बन्ध सेतु’को काम गर्दै आएका इतिहास पाइन्छ । बनारसमा रहेका वीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा आफूले नै उनीहरुबीच सम्वाद स्थापित गराउने गरेको दाबी पौडेल स्वयम्ले गर्ने गरेका छन् ।
लामो र अथक राजनीतिक सक्रियता नै उनको प्रमुख पूँजी हो । ०१७ सालपछिका हरेक राजनीतिक संघर्षहरुमा संलग्न रहेका उनले पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गरेका छन् । पौडेल कांग्रेसभित्र धेरथोर नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने नेताका रुपमा लिइन्छन् । पटक–पटक मन्त्री हुँदा उनी कुनै गम्भीर विवादमा मुछिएनन् । भ्रष्टाचारमा नमुछिएका इमान्दार र निस्कलंक छवि भएका नेताका रुपमा उनी चिनिन्छन् ।
त्यसो त उनका दुर्वल पक्ष पनि छन् । उनीमाथि लघुताभाषी नेताको आरोप लाग्नेगर्छ । राष्ट्रिय नेता भएर पनि उनको सोच र चिन्तनको दायरा साँघुरो हुने गरेको टिप्पणी आलोचकहरु गर्छन् । पार्टीकै कार्यकर्ताले पनि उनलाई ‘सानो चित्तको’ भनेर कुरा काट्ने गरेको पाइन्छ । परिवारवादको जालोमा पौडेल पनि बिस्तारै जेलिँदै गएका आरोप पनि लाग्ने गरेका छन् ।
- याे पनि…




















प्रतिक्रिया