Logo

राजनीति

राष्ट्रपतिमा कार्यकाल पूरा गरेकी भण्डारीद्वारा सबै दलका शीर्ष नेताहरूसँग सामूहिक भेटवार्ता



काठमाडौं । राष्ट्रपतिमा दोस्रो कार्यकाल पूरा गरेकी विद्यादेवी भण्डारीले राजनीतिक दलका शीर्ष नेताहरुसँग सामूहिक भेटवार्ता गरेकी छन् । उनले आज आइतबार नेताहरूलाई शीतलनिवासमै बोलाएर चियापानसहित सामूहिक भेट गरेकी हुन् ।

भण्डारीको निम्तोमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर उपस्थित थिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भाइको शोकमा रहेका कारण उपस्थित थिएनन् । त्यस्तै, उपत्यकाबाहिर रहेका कारण जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपस्थिति थिएन भने जनमत पार्टीका अध्यक्ष सीके राउत कार्यक्रममा व्यस्त भएको भन्दै सहभागी भएनन् ।

करिब दुई घण्टा भएको भेटमा भण्डारीले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा दलहरुलाई धन्यवाद दिएकी बताइएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार २१:३५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।