काठमाडौं । निर्वाचन अयोगले तनहुँ १ र चितवन २ मा एकैसाथ उपनिर्वाचन गर्ने तयारी गरेको छ । चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको सर्वोच्चको फैसलासँगै उक्त क्षेत्र रिक्त भएको थियो । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएर सांसदबाट राजीनामा दिएसँगै तनहुँ १ पनि सांसदविहीन भएको छ ।
उक्त क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन गर्ने घोषणा आयोगले यसअघि नै गरिसकेको छ भने सोही दिन तनहुँ पनि उपनिर्वाचन गर्ने तयारी आयोगको छ । उपराष्ट्रपतिमा पनि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सदस्य चुनिने सम्भावना ख्याल गर्दै त्यसरी रिक्त हुने पदमा पनि वैशाख १० मा नै उपनिर्वाचन गर्ने तयारी गरिरहेको आयोग स्रोतको भनाइ छ ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ । उपराष्ट्रपतिको पदका लागि बारा २ बाट निर्वाचित जनता समाजवादीका सांसद रामसहायप्रसाद यादव पनि उम्मेदवार छन् । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार छन् । यसअघि राष्ट्रपतिमा पौडेले पनि सत्तारुढ गठबन्धनबाट नै निर्वाचित भएका थिए । सोही अवस्था कायमै रही उनी निर्वाचित भएमा बारा २ को प्रतिनिधिसभा सदस्य सिट रिक्त हुनेछ ।




















प्रतिक्रिया