Logo

प्रमुख समाचार

माओवादी धारका पार्टीहरुकाे अन्तर्क्रिया स्थगित



काठमाडौं । माओवादी धारका पार्टीहरुले आज (मंगलबार) गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले आजका लागि तय भएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको जानकारी दिएको हो । अन्तर्क्रिया कार्यक्रम के कारणले स्थगित गरियो भन्नेबारे भने खुलाइएको छैन ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि नजिकिएका माओवादीहरुको २६ फागुनमा बसेको बैठकले शान्ति प्रक्रियाका पक्षधर लगायतसँग ३० फागुनमा अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो ।

विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेका माओवादी घटकहरुले द्वन्द्वकालीन मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्ने बताउँदै आएका छन् ।

१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्चमा रिट परेपछि नजिकिएका माओवादी धारका पार्टीहरुले त्यसको विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार ११:३९   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।