Logo

प्रमुख समाचार

माओवादीप्रति ओलीको ब्यांग्य : हाम्रो बन्दुकमा अझै खिया लागेको छैन भन्दै धम्क्याइरहेका छन्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् । माओवादी घटकहरुलाई लक्षित गर्दै ओलीले उक्ता टिप्पणी गरेका भए पनि कुनै दलको नाम भने लिएनन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको टिप्पणी गरेका हुन् ।

‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन् । तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तोस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्’, उनले भने, ‘त्यसकारण हाम्रो एलाईन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्दछ । मानव अधिकारप्रति उभिन सक्ने, बोल्न सक्ने, त्यसका रक्षाका निम्ति लड्न सक्ने त्यो हुनुपर्दछ । एक्लै भयो भने फाँसी दिन सक्छन् ।’

अध्यक्ष ओलीले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाईन्सलाई निर्देशनसमेत दिए । उनले नेपालमा मानव अधिकार उलंघनकर्ताहरूले नै धेरै मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १५:१९   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।