काठमाडौं । १० दलीय सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । उपराष्ट्रपति निर्वाचनबारे समझदारी कायम गर्न भन्दै प्रधानमन्त्रीको निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो । अब पुनः भोलि (बिहीबार) बस्ने गरी आजको बैठक टुंगिएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत थिए ।
शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धनबाट ३ र एमाले तर्फबाट १ उम्मेदवार छन् । सत्ता साझेदार दल जसपाबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमतबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिका उम्मेदवार छन् । यद्यपि प्रमिलाकुमारीले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।




















प्रतिक्रिया