Logo

खेलकुद

चितवन र मुलपानी क्रिकेट रंगशाला निर्माणलाई पूर्णता दिन सरकार प्रतिवद्ध : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले निर्माण कार्य राेकिएकाे दुई क्रिकेट रंगशालाको कामलाई पूर्णता दिन सरकार तयार रहेको बताएका छन् । चितवन र मुलपानीमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माणको काम अहिले रोकिएको छ । प्रधानमन्त्री प्रचण्डले आज (शनिबार) ती दुवै रंगशालालाई छिट्टै पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

काठमाडौं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले क्रिकेट रंगशाला निर्माणको कामलाई पूर्णता दिन ध्यानाकर्षण गएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिवद्धता जनाएका हुन् । सांसद गौतम प्रधानमन्त्रीको समय लिएर आज बिहान बालुवाटार पुगेकी थिइन् । करिब ४५ मिनेट भएको छलफलका क्रममा वर्षौँदेखि अलपत्र बनेको मूलपानी रंगशालालाई चाँडो सिद्ध्याएर अन्तर्राष्ट्रिय म्याच खेल्न योग्य बनाउनुपर्नेमा ध्यानाकर्षण गराएकी थिइन् ।

सांसद गौतमले आफू क्रिकेट हेर्न कीर्तिपुरस्थित क्रिकेट मैदान पुग्दा रंगशालाको आवश्यकता झन् बढी महसुस भएको बताएकी थिइन् । जवाफमा प्रधानमन्त्रीले भने, ‘तपाईँले उठाउनुभएको विषय एकदमै सान्दर्भिक छ । मूलपानी रंगशालालाई पूर्णता दिन सरकारले आवश्यक पहल गर्नेछ ।’

गौतमले प्रधानमन्त्रीलाई एकपटक मूलपानी रंगशालामै पुगेर प्रत्यक्ष अवलोकन गर्नपनि आग्रह गरेकी थिइन् । प्रचण्डले आफू आउन तयार रहेको भन्दै यसका लागि संयोजन गर्न गौतमलाई भनेका छन् । २० वर्षदेखि निर्माण सुरू भएको मूलपानी रंगशाला जग्गाको मुआब्जा, बजेट लगायतका समस्याले अहिलेसम्म सम्पन्न हुन सकेको छैन । अहिले सबै विवादहरू सल्टिएर कन्स्ट्रक्सनको काम मात्रै बाँकी छ ।

मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान

प्रधानमन्त्रीले मूलपानीसँगै चितवनको रंगशाला सफल पार्न पनि सरकार प्रतिबद्ध रहेको बताए । धुर्मुस–सुन्तली फाउण्डेशनले सुरु गरेको उक्त रंगशाला निर्माणको काम करिब ३५ प्रतिशत भएपछि रोकिएको छ । उच्च गुणस्तरमा निर्माण भइरहेको रंगशालामा ६३ करोडको काम भइसकेको सरकारी अध्ययनले नै देखाएको छ ।

त्यसमध्ये धुर्मुसले करिब १८ करोडको उधारो सामान लिएर कामलाई निरन्तरता दिएका थिए । त्यो उधारोकै कारण काम अघि बढ्न सकेको छैन । रंगशालाको फाइल अहिले केन्द्र सरकारसँगै छ । तर, कुनै निर्णय लिएको छैन ।

चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

सुविधासम्पन्न क्रिकेट रंगशाला नहुँदा बिहीबार नेपाल र यूएईबीकाे खेल हेर्न दर्शकले रुख चढ्नुपरेकाे थियाे । त्यही अवस्थाका कारण खेल सुरु हुनुअघि खेलाडीहरुलाई हाैसाल दिन पुगेका प्रधानमन्त्री प्रचण्डविरुद्ध दर्शकहरुले नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १५:०७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।