काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ले सत्तारुढ दलका प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओलीबाट विगतको संसद् विघटनको पक्षपोषण भएपछि आफूलाई चुनौती आएको बताएका छन् । ओलीले यसअघि पुस २६ मा प्रचण्डले विश्वासको मत लिँदा आफ्नो कार्यकालमा विगतको दूई पटकको संसद् विघटनको पक्षपोषण गरेका थिए ।
प्रचण्डले सोमबार पुनः विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव राख्दै विगतका कुरा नउठाउने समझदारी ओलीबाट पालना नभएको र आफूलाई चुनौती आएको बताए । ‘संसद्मा पहिलो दिन नै संसद् विघटनको अत्यन्त संवेदनशील विषयले प्रवेश पायो र त्यसले सिंगो देश तरंगित पनि बन्यो’, उनले भने ‘त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक नै थियो । देशमा ठूलो राजनीतिक र संवैधानिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय थिएन । दुई पटक सर्वोच्च अदालतले असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भएको अप्रिय विषयको उठानले गठबन्धनमा अविश्वास मात्रै बढाएन लोकतन्त्र र संसद्को स्थायित्वमै प्रश्न चिह्न खडा गर्यो । लगभग सिंगो संसद्को विश्वास पाएको प्रधानमन्त्रीलाई त्यै संसद् विघटनको खुला पक्षपोषणले ठूलो संवैधानिक, राजनीतिक र नैतिक चुनौती दियो ।’
पुस १० मा एमालेसँग गठबन्धन गरेर न्यूनतम साझा कार्यक्रमअनुसार सरकार सञ्चालन गर्ने समझदारी भएकोमा त्यो पनि एमालेबाट पालना नभएको प्रचण्डको अरोप छ । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गरौं भन्दा एमाले अध्यक्ष ओलीले नमानेको प्रचण्डले बताए ।




















प्रतिक्रिया