काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारमाध्यम सधैभरि सचेत हुनुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)को स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलन तथा १७ औँ साधारणसभामा शुभकामना मन्तव्य राख्दै उनले सरकारले निरन्तररुपमा विधिको शासनको परिपालन गरिरहेको छ कि छैन भन्नेमा रेडियो सचेत हुनुपर्ने बताए ।
उनले अभिवृद्धि स्वतन्त्रतालाई खुला पनि राख्दै दुरुपयोग हुन नदिन पनि मिलेर काम गर्नुपर्ने बताए । “समुदायलाई सही सूचना दिने दायित्व सामुदायिक रेडियोको हो । यसका लागि सामुदायिक रेडियोसँग धेरै स्पेस छ”, उनले बताए ।
महामन्त्री थापाले आफूसँग रेडियोमा काम गरेको अनुभव भएको बताउँदै रेडियोका साथीहरूले बोलाएपछि महत्व दिएर कार्यक्रममा बोलिदिने गरेको बताए । “सामुदायिक रेडियोले राजस्व र नवीकरणका पक्षमा छुटका लागि सरकारसँग माग राख्ने, आवाज बुलन्द गर्ने काम गर्नुपर्ने र आफ्ना कुरा सरकारसँग भन्नुपर्छ”, उनले भने । महामन्त्री थापाले नकारात्मक धारणा आउँछ भन्ने आधारमा नागरिकका अधिकारलाई खुम्च्याइनु नहुने, भुइँमान्छे, तन्नेरी, समाजका कुरा सामुदायिक रेडियोले बजाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका मनिटरिङ कमिटीकी सदस्य बन्दना राणा, अकोरावका संस्थापक अध्यक्ष संस्थापक अध्यक्ष रघुनाथ मैनाली, नगरपालिका महासङ्घका अध्यक्ष भीम ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मी पाण्डे, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलगायतका व्यक्तित्वले शुभकामना मन्तव्य राखेका थिए ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले नेपालको राजनीतिक सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको र नेपालको सामुदायिक रेडियो विश्वमा नमुना योग्य भएको बताए । उनले सामुदायिक रेडियोले ७० भाषामा समाचार तथा कार्यक्रम प्रसारण गरिरहेको बताए ।





















प्रतिक्रिया