जिल्लामा पछिल्लो तीन दिनयता चुरे क्षेत्रका गाउँमा जंगली हात्तीले आतंक मच्चाइरहेको छ । आइतबार राति त्रियुगा नगरपालिका–५ का पिपल चौरी, खारखोला, बुर्जाकान्ला र वडा नं. ६ का लालपत्ता, पात्ले घनचक्रे, मोहनपुर, माटीखोला, बोजे आसपासका आधा दर्जन घरमा क्षति हात्तीले क्षति पुर्याएको छ ।
पिपलचौरीमा हात्तीले कबिर थापामगर र उनका ४ वर्षीय छोरा वसन्त थापामगरलाई घेरामा पारेको थियो । प्रहरी र स्थानीयको सहयोगमा उनीहरुको उद्धार गरिएको छ । परिवारै सुतिरहेको बेला राति हात्तीले घरको टाटी भत्काएपछि परिवारका अन्य सदस्य भागेका थिए । तर कबिर भने सुतिरहेको छोरालाई बोकेर बाहिर निस्कन खोज्दा पाँच वटा हात्तीले घेरा हालिसकेको थियो । परिवारले बाबु छोरालाई बचाउन गुहार मागेपनि स्थानीयहरु डरले त्यहाँ जान सकेनन् । अन्ततः आधा घण्टापछि लालपत्ता प्रहरी चौकीका प्रहरी र स्थानीय मिलेर उद्धार गरेका थिए ।
पीडित कविर थापामगर आफूलाई पाँच वटा हात्तीले चारै तिरबाट घर घेराहालेको देखेपछि भाग्ने ठाउँ नपाएको बताउँछन् । ‘भाग्ने ठाउँ नपाएपछि छोरालाई काखी च्यापी पलङ्गमुनी लुकेर बसेका थियौँ । हात्तीले घरका टाटीहरु भत्काउन शुरु गर्यो । अब मरिने भइयो भन्दै बाबु छोरा चुपचाप बस्यौँ ।’ उनले भने, ‘हात्तीले घर भित्रका सामानहरु अत्रतत्र छर्न थाले, ग्यास चुल्हो फ्याके, अन्नपात खान थाले तर हात्ती भागेन ।’
घटनालाई सम्झिँदै भकानिँदै भने, ‘अब हामी बाबु छोरालाई हात्तीले एउटै चिहान बनाउँछ, मेरो बाँच्ने आशा मरिसकेको थियो तर, धन्न प्रहरी समयमै आएपछि बाँच्न सफल भएको हुँ ।’
लालपत्ता प्रहरी चौकीका इन्चार्ज नर बहादुर खड्काका अनुसार हात्तीले बाबु छोरालाई घर घेरा हाली सकेका थिए । घर घेराहाले पनि बाबु छोरालाई केही गरेको थिएन र बचाउन सफल भएको उनले बताए । ‘हात्तीले बाबु छोरालाई घर भित्रै घेरा हानेर मार्न लागेको खबर पाउन साथ हामी हतार हतार त्यहाँ पुग्यौँ’ उनले भने, ‘हामी त्यहाँ पुग्दा हात्तीले घर भत्काई रहेको देखेपछि मान्छेलाई बचाउनु हाम्रो दायित्व भएर आगोको राँको बालेर स्थानीयहरु होहल्ला गर्दै गएपछि हात्ती बल्ल पछि हट्यो र उनीहरुलाई बचाउन सफल भयौँ ।’
जंगली हात्तीले कबिरको मात्रै होइन उनका बुबा हिरालाल थापामगरको घर बस्नै नहुने गरी भत्काएका छन् भने हात्तीले गौरीशंकर भुजेल र सिताराम भुजेलको घर पनि भत्काइ दिएको छ ।
यस्तै जङ्गली हात्तीले सोमबार बिहानी पख त्रियुगा नगरपालिका ६ लालपत्ताका बाबु कृष्ण पौडेल र छोरा दिपक पौडेलको घर भत्काएको छ । प्रहरीका अनुसार बाबु छोराको दुई तल्ले घर भत्काएको छ भने धान चामल आधा खाएका छन् ।
यस्तै सोमबार साँझ नै पात्लेवास आसपासका जंगलमा हात्ती देखिएको भिमबहादुर खड्काले जानकारी दिए । प्राय प्रत्येक वर्ष यसै समयमा चुरे जंगल हुँदै आउने जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काउने, बालीनाली खाइदिने गरेको छ ।
हात्तीको आक्रमणबाट जोगिन सजग रहनुको विकल्प नरहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साह बताउँछन् । ‘संरक्षित जनावर हो, केही गर्न मिल्दैन, गाउँलेहरु मिलेर हात्ती खेद्नुको विकल्प छैन’ सहायक वन अधिकृत साहले भने ।
प्रतिक्रिया