Logo

राजनीति

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्काविरुद्ध पक्राउ पुर्जी



काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासमेत ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

खड्काविरुद्ध २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनी २०७१ साल माघमा खड्कालाई मन्त्रिपरिषद्ले निगमको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । विवादै विवादमा मुछिएपछि सरकारले २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम पदच्युत गरेको थियो ।

उनले श्रीमती शर्मिला खड्का र अन्य व्यक्तिका नाममा समेत चलअचल सम्पत्ति लुकाइराखेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि उपस्थित नभएपछि विशेष अदालतले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले निगम सुधारको प्रयास थालेका चण्डिका भट्टलाई हटाएर गोपाल खड्कालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । डिभिजन सडक कार्यालय काठमाडौंमा कार्यरत रहँदा विभिन्न अनियमिततामा मुछिएका खड्का राजीनामा दिएको केही दिनमै निगमका कार्यकारी प्रमुख बनेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार २०:५३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।