काठमाडौं । काठमाडौं महानगरपालिकाकाका मेयर बालेन साहले गरिब तथा जेहेन्दार, महिला, दलित र द्वन्द्वपीडित विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन् । नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलिरहेको बेला मेयर साहले कुल विद्यार्थी संख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन भनेका हुन् ।
‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ । यो नियमअनुसार निजी तथा संस्थागत विद्यालयहरुले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ ’, मेयर बालेनले भनेका छन्, ‘विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।’
यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीहरूलाई सूचित गराउन पनि उनले आग्रह गरेका छन् । नियमको पालना गर्ने विद्यालयको दायित्व भएको भन्दै उनले अभिभावक र सरोकारवालालाई निगरानी गर्न भनेका छन् ।





















प्रतिक्रिया