Logo

राजनीति

तनहुँ–१ उपनिर्वाचन : कांग्रेस उम्मेदवार भट्टराईद्वारा हार स्वीकार



तनहुँ । तनहुँ १ उपनिर्वाचनको मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले भारी मतान्तरले अग्रता लिएपछि नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन् । रास्वपाका वाग्लेसँग १० हजारभन्दा बढी मतान्तरले पछि परेका उनले सामाजिक सञ्जाल फेसबुकमा हार स्वीकार गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।

‘मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ’, उनले फेसबुकमा लेखेका छन् । चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उनले सानो खुशी पनि दिलाएको महसुस भएको बताएका छन् ।

भट्टराईकाे स्टाटस

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो ।

ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उही तपाईंको

गोविन्द

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २२:२४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।