पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधि र स्वास्थ्य उपकरण स्वास्थ्य संस्थामार्फत जनतासम्म पुर्याउन निर्देशन दिएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि तथा स्वास्थ्य उपकरण भण्डारण कक्षको आज निरीक्षण गर्दै उनले स्वास्थ्य जनताको जीवनसँग जोडिएको संवेदनशील क्षेत्र उल्लेख गर्दै औषधि थन्काएर राख्ने नभई सक्दो जनताकहाँ पुर्याउनुपर्ने बताए ।
मङ्गलबार पोखरामा आयोजित एक कार्यक्रममा प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधिले औषधि, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए । उक्त गुनासोसँगै आज उनी भण्डारण कक्षको निरीक्षण गर्दै त्यहाँका कर्मचारीसँग औषधि थन्काएर राखेको, स्थानीय तहमा नपठाएको हो ? भन्ने प्रश्न गरे ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदबिन्दु शर्माले स्वास्थ्यको प्रोटोकलअनुसार १० प्रतिशत औषधि इमर्जेन्सीका लागि स्टक राख्नुपर्ने नियम रहेकाले सोहीअनुसार मात्रै स्टोरमा औषधि रहेको जानकारी गराए । सबै प्रकारका औषधि अझै १० प्रतिशत अपुग रहेको भन्दै उनले भएका औषधि जिल्ला अस्पताल र प्रदेश मातहतका स्वास्थ्य संस्थालाई पु¥याउन नसकेको बताउनुभयो । इमर्जेन्सीका लागि बाहेक औषधि स्टक नरहेको उहाँले जानकारी गराए ।
मुख्यमन्त्री पाण्डेले औषधि १० प्रतिशत राख्नुपर्ने नियम भए पनि स्वास्थ्य उपकरण भने सक्दो धेरै प्रयोगका लागि पठाउन सुझाव दिए । प्रदेशका ११ जिल्लाका कम्तीमा एक/एक पालिकाका प्रमुखलाई बोलाएर स्वास्थ्य प्रोटोकल र नियमबारे पनि थाहा दिनुपर्ने उनले बताए ।
“हामी र स्थानीय तहबीच कम्युनिकेशन नहुँदा पनि केही समस्या भएको छ, उहाँहरूलाई प्रदेशमा औषधि छ हामीले पाएनौँ भन्ने परेको हुन सक्छ ।” मन्त्रालयका सचिवलाई निर्देशन दिँदै उनले भने, “योबारेमा तत्काल स्थानीय तहका प्रमुखलाई पनि जानकारी गराउनुहोला ।” आफूलाई गरेको ब्रिफिङ र फिल्डमा फरक नहुने गरी काम गर्न मन्त्रालयका कर्मचारीलाई उहाँले निर्देशन दिए ।
स्वास्थ्यका विषयमा प्रदेश सरकार संवेदनशील रहेको उल्लेख गर्दै उहाँले अहिलेको स्थितिभन्दा आगामी वर्ष स्वास्थ्य क्षेत्रमा सुधार गर्ने जानकारी गराए । “हामीसँग साधन स्रोत सीमित छ, आवश्यकता र पूर्र्तिलाई कसरी व्यवस्थित गर्ने भन्ने योजनामा हामी छौँ”, उनले भने । निरीक्षणमा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडा लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया